टिपर र ट्रकलाई ओभरटेक गर्न निषेध



बुटवल : साविकका लुम्बिनी, गण्डकी र धौलागिरी अञ्चलका थुप्रै जिल्लाका सयौं गाउँहरु जोड्ने सिद्धार्थ राजमार्गका धेरै खण्डहरु जीर्ण बनेका छन् । वि सं.२०२८ सालदेखि सञ्चालनमा आएको सो राजमार्गको बुटवल–तानसेन सडक खण्ड सबैभन्दा जोखिमयुक्त छ ।

 

त्यहीँ जोखिमयुक्त ठाउँमै सडक लगभग ध्वस्त जस्तै छ । राजमार्गको तानसेन–बुटवल ३९ किलोमिटर सडक खण्डको अवस्था भने निकै दयनीय छ । सो सडक खण्डमा बारम्बार दुर्घटना भइरहन्छन् । यहीँ खण्डमा यात्रा गर्नेदेखि साना ठूला गाडी गुडाउने चालकहरुसमेत त्रासको अवस्थामा हुन्छन् ।

 

दुर्घटना न्यूनीकरण गर्ने उपायस्वरुप जिल्ला ट्राफिक प्रहरी कार्यालयले अहिले यहाँको करिब १० किलोमिटर सडक खण्डमा ठूला (हेभी) गाडीलाई ओभरटेक निषेध गरेको छ भने गतिको पनि सीमितता तोकेको छ । झुम्सा खोलादेखि बुटवलको चिडिया खोला पुलसम्मको खण्डमा आवतजावत गर्ने हेवी गाडी कुनैले पनि अब ओभरटेक गर्ने र बढीमा ३० किलोमिटर प्रतिघण्टाका दरले गाडी कुँदाउनु पर्नेछ ।

 

हेवी लोडका र माल छाडेर खानीमा फर्किन लागेका टिपरहरु बिहान ९ देखि साढे १० बजेसम्म यस्ता गाडीहरु मुख्य राजमार्गमा गुड्न नपाउनेसमेत नियम बनाइएको छ । बुटवललगायतका क्षेत्रमा समेत यो समयमा ट्राफिक अस्तव्यस्त बनाएको गुनासो आइरहेका बेलामा बुटवलसँगै जोडिएको सडक खण्डमा यो नियम बनाइएको छ ।

 

जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले यस्तो नियमको सुरुआत गराएको हो । टिपर व्यवसायी, मजदुरहरु, नागरिक अगुवा र पत्रकारहरुको सहभागितामा यस्तो अभियानको शुभारम्भ गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी नायव निरीक्षक डम्बर गिरीले जानकारी दिए ।

 

साविकका मस्याम, कचललगायतका गाविसबाट रूपन्देही र नवलपरासीका विभिन्न स्थानमा रहेका सिमेन्ट उद्योगका लागि चुनढुंगा, ढुंगा, गिट्टी, बालुवा, कोइला निकासी गर्दा प्रयोग हुने बढी भारवहन क्षमताका सवारीले राजमार्गको यो खण्ड क्षतविक्षत अवस्थामा छ ।

 

चुरे र हिमालय पर्वतको सिमानामा रहेका पहाडमा आधा दर्जन जति चुनढुंगा खानी छन् । अरु नयाँ पनि सञ्चालनको तयारीमा छन् । यिनै खानीहरुबाट दैनिक झण्डै चार सय टिपरले माल ओसार्ने गर्छन् । यस्का अतिरिक्त यात्रुवाहक र पहाडी भेगमा मालसामान ढुवानी गर्नेसमेत गरी दैनिक चार हजारको संख्यामा सवारी गुड्ने गरेको तथ्यांक छ ।

 

करिब दुई सय किलोमिटर लामो सिद्धार्थ राजमार्ग प्रदेश नम्बर ५ को तराईलाई प्रदेश नं. ४ का पहाडी गाउँसँग जोड्ने मुख्य राजमार्ग हो । तर, यो राजमार्ग साँघुरो, अतिक्रमित र कमजोर बन्दै गएको छ । तानसेन–बुटवल सडकखण्डका यात्रु र सवारी चालकले निकै सास्ती खेप्नुपर्छ ।

 

दोभानदेखि सिद्धबाबा मन्दिरसम्म माथिबाट झर्ने ठूल्ठूला चट्टान र पहिरोका कारण यात्रु र चालकले वर्षौंदेखि जोखिमपूर्ण यात्रा गर्दै आएका छन् । यसैबीच यो सडक खण्डमा गुड्ने बस, ट्रक, टिपरलगायतका साना–ठूला सवारी साधानहरुका व्यवसायीहरुले दुर्घटना न्यूनीकरण अभियानमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका राजधानीमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्