प्रदेश ५ को हिउँदे अधिवेशन मंसिर २६ गतेदेखि सुरु हुने



बुटवल : प्रदेश नम्बर ५ को हिउँदे अधिवेशन मंसिर २६ गतेदेखि सुरु हुने भएको छ । नम्बर ५  प्रदेश मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । उसले मंसिर २६ गते १ बजेका लागि प्रदेश सभाको बैठक बोलाउन प्रदेश प्रमुखलाई अनुरोध गरेको छ ।

 

बैठक बोलाएसँगै ४ महिनादेखि विजनेशविहीन सांसदहरुले मंसिर २६ पछि काम पाउने भएका छन् । गत साउन २४ गते स्थगित भएको प्रदेश सभा बैठक अहिलेसम्म बस्न नसकेको भन्दै सांसदहरुले आलोचना गर्दै आएका थिए ।

 

सरकारले तिहार र छठ लगत्तै संसद सुचारु गर्ने बताउँदै आएको थियो । तर सरकारले प्रदेश प्रमुख उमाकान्त झालाई बैठक आह्वानका लागि अनुरोध नगरेकाले ढिलाई भएको सरकारका प्रवक्ता एंव भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।

 

मन्त्रिपरिषदको बैठकले प्रदेश सभा बैठक आह्वान गर्न प्रदेश प्रमुख झालाई अनुरोध गर्ने भएको छ ।  जसअनुसार मंगलबार मुख्यमन्त्री शंकर पोखरेल र प्रदेशका प्रमुख सचिवले प्रदेश प्रमुख झासँग भेट गरी प्रदेश बैठकका आह्वान गर्न अनुरोधसहितको पत्र दिने छन प्रदेश सचिवायले जानकारी दिएको छ । सरकारले बैठकका लागि विजनेश तयार पारेको मन्त्री चौधरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्