भूमाफिया बैकुन्ठ दास काठमाडौंमा समातिए, बिहीबार जनकपुर ल्याइने



जनकपुरधाम : जनकपुरधामस्थित रत्नसागर मठका महन्थ बैकुन्ठ दास राजधानीमा पक्राउ परेका छन् । राजधानीको पुतली सडकस्थित तिरुपति होलि डे इन (गेस्ट हाउस) बाट महानगरीय प्रहरीे अपराध महाशाखाको विशेष टोलीले बुधबार बेलुका आठ बजे उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दासलाई अहिले काठमाडौंको टेकुस्थित महानगरीय हिरासतकक्षमा राखिएको छ । दासलाई बिहीबार धनुषा जिल्ला अदालतमा हाजिर गराउन जनकपुर लगिनेछ ।

सरकारी कागज किर्ते अभियोगमा जिल्ला अदालत धनुषाबाट पक्राउ पुर्जी जारी भएलगत्तै फरार रहेका उनी केही दिनअघिदेखि काठमाडौंमा लुकिछिपी बस्दै आएका थिए ।

राजनीतिक संरक्षणको खोजीमा उनी राजधानी आएका थिए । नक्कली लालपुर्जा र गुठी रसिद बनाई हजारीजनक विद्यापीठको २ बिघा १८ कट्ठा जग्गा अशोक शर्मा नाम गरेका व्यक्तिलाई बिक्री गरेका उनीविरुद्द सरकारी कागज किर्ते गरेको अभियोग लागेको छ ।

प्रतिक्रिया दिनुहोस्