पुनर्निर्माणमा नेपाली प्रतिनिधि नआएको चिनियाँ गुनासो



सिन्धुपाल्चोक : लार्चास्थित सुख्खा बन्दरगाह र कोदारी राजमार्ग पुनर्निर्माणमा सक्रिय चिनियाँ रेलवे कन्स्ट्रक्सन कम्पनी लिमिटेडका ठेकेदारले नेपाल सरकारका प्रतिनिधि नहुँदा विभिन्न समस्या झेल्नुपरेको गुनासो गरेका छन् । गाउँपालिका जनप्रतिनिधि र सडक डिभिजनका कुनै पनि अधिकारी पुनर्निर्माणस्थल पुगेका छैनन् ।

नेपाल सरकारका आधिकारिक प्रतिनिधि नहुँदा काममा परेको समस्या सुल्झाउन नसकेको सिआरसिसीका साइट प्रमुख मिस्टर लिउले गुनासो गरे । ‘सरकारी निकायका मानिस कोही आउँदैनन्,’ लिपिङ खोलाको जीर्ण पुल मर्मतसुधारमा लागेका लिउले भने ‘स्थानीयसँग कुराकानी कसरी गर्ने भन्ने समस्या चिनियाँलाई परेको छ ।’

कोदारीको इको रिसोर्ट र लिपिङ बसपार्कदेखि मितेरी पुलसम्मको सडक मर्मत गर्न समस्या भइरहेको छ । भग्नावशेष पन्छाइएको छैन । सग्लो अवस्थामा रहेको स्थानीयको घर भत्काउने अनुमति चिनियाँलाई छैन ।

सरकारका आधिकारिक प्रतिनिधि पुनर्निर्माणस्थल आएर स्थानीयसँग कुरा गरोस् भन्ने चिनियाँ चाहना छ । चीन सरकारले सन् २०१९ को मेभित्र सुक्खा बन्दरगाह र २६ किमि दूरीको कोदारी राजमार्ग पुनर्निर्माण सकेर नेपाल सरकारलाई हस्तान्तरण गर्ने उद्देश्य राखेको लिउले जानकारी दिए । ‘छिटो काम सम्पन्न गर्ने लक्ष्य राखेका छौँ । तर, नेपाल सरकारका प्रतिनिधि नआउँदा धेरै समस्या परेको छ,’ उनले भने । 

पुनर्निर्माणस्थल आएर स्थानीयसँग समन्वय गर्न पटकपटक भोटेकोसी गाउँपालिका जनप्रतिनिधि र सडक विभागका कर्मचारीलाई सिआरसिसीले गरेको अनुरोध सुनाउँदा पनि कोही फर्केर नआएको दोभासे अधिकारीले बताए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्