लुटिएकाे एटिएम कार्डले पुर्‍यायाे हिरासत



काठमाडौं : तस्बिरमा देखिएका युवक ललितपुर कुमारीपाटीस्थित सिटिजन्स बैंकको एटिएम बुथमा प्रवेश गर्छन् । कालो क्याप पछाडि फर्काएका र कानमा एयरफोन लगाएका ती युवक एटिएम कार्ड प्रयोग गरेर पैसा निकाल्ने कोसिसमा लाग्छन् । एकछिनको प्रयासमा पैसा ननिस्केपछि उनी त्यहाँबाट निस्कन्छन् । 

केही बेरपछि पुनः सोही बुथमा प्रवेश गर्छन् र कागज हेर्दै पासवर्ड थिच्छन् । अधिकतम अंक थिचेर बढी पैसा निकाल्न खोज्दा रकम नपुगेको सन्देश आउँछ । तर ती युवक रकम निकाल्ने प्रयास रोक्न चाहँदैनन् । उनी रकम घटाउँदै घटाउँदै निरन्तर अंक थिचिरहन्छन् । 

धेरैबेरको प्रयासपछि अन्ततः पैसा निकाल्न सफल हुन्छन् । सिसिटिभी फुटेजमा हेर्दा तीन हजार रुपैयाँ मात्रै निस्केको देखिन्छ । उक्त पैसा गोजीमा राखेर युवक एटिएम बुथबाट बाहिरिन्छन् ।

ती युवकले प्रयोग गरेको एटिएम कार्ड उनको होइन । त्यो कार्ड लुटिएकी एक महिलाको हो । तिनको हाते ब्याग एटिएमसम्म पुगेर पैसा निकाल्ने युवकसमेत सम्मिलित ६ जनाको समूहले मंसिर १२ गते एक सार्वजनिक यातायातमा लुटेको हो ।

लुटेको हाते पर्सभित्र एटिएम कार्ड र त्यसको पासवर्ड लेखिएको कागजसमेत भेटिएपछि सो समूहका एक सदस्य सानुकाजी तामाङ पैसा झिक्न एटिएम बुथमा पुगेका थिए । 

एटिएम र पासवर्डकै कारण लुटेरा समूह प्रहरीको नियन्त्रणमा पुगेको हो । सुरुमा सिसिटिभी फुटेजको सहयोगमा एटिएम बुथसम्म पुग्ने सानुकाजीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्