स्कुलमा शौचालय नभएपछि छात्राको पढाइ चौपट



नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाअन्तर्गत सञ्चालित अधिकांश सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रा महिनाबारीका समयमा विद्यालय जाँदैनन् । 

 

विद्यालयमा छात्रामैत्री शौचालय नहुनु, भएकामा पनि सरसफाइका लागि पानी नहुने कारण छात्रा चाहेर पनि विद्यालय जान नसकेका हुन् । यसबाट उनीहरुको अध्ययन प्रभावित हुने गरेको छ । उनीहरुलाई मानसिक पीडाले समेत सताउने गरेको छ । 

 

‘विद्यालयको शौचालय अत्यन्त फोहोर हुने गर्छ, प्याड फाल्ने स्थान र सरसफाइका लागि पानी अभाव हुने भएकाले महिनाबारी भएका बेला चाहेर पनि विद्यालय जान सकिँदैन’, कक्षा १० मा अध्ययनरत छात्रा श्वेता कनौजियाले भनिन् । 

 

नेपालगन्ज उपमहानगरपालिकामा कुल ४३ सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्राको सङ्ख्या पाँच हजार ७ सय ७६ छ । यहाँका केही सामुदायिक विद्यालयमा अहिले छात्रामैत्री शौचालय निर्माण भइरहेका छन् । तर अझै थुप्रै विद्यालयमा छात्रामैत्री शौचालय निर्माण हुनसकेको छै्रन । नेपालगन्ज उपमहानगरपालिकाले पञ्चवर्षीय परियोजनाअन्तर्गत नगरका सामुदायिक विद्यालयमा छात्रामैत्री शौचालय निर्माण गर्ने योजना बनाएको शिक्षा शाखा प्रमुख मनप्रसाद रेग्मीले बताए । 

 

विशेषतः कक्षा ६ देखि १० सम्मका छात्राका लागि विद्यालयमा सेनेटरी प्याड र छात्रामैत्री शौचालय नहुँदा उनीहरुको पठनपाठन प्रभावित हुने गरेको शिक्षक मोहिनी योगीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्