दशैं लक्षित ट्राफिक योजना : दशैंको टिकटमा गोलमाल गरेमा ठगी मुद्दा



काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले नजिकिँदै गरेको दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू गरेको छ ।

 

शुक्रबार महाशाखामा पत्रकार सम्मेलन आयोजना गरी सह–आयुक्त प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त पन्तले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरिएको जनाएका हुन् ।

उनका अनुसार भिडभाड हुने स्थल र टिकट काउन्टरहरुमा हुन सक्ने ठगी एवं अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न सादा पोशाकका  प्रहरी परिचालन गरिएको छ ।

 

‘यात्रुलाई ठग्ने, एउटै व्यक्तिले धेरै वटा सीटको टिकट काट्ने, आवश्यकताभन्दा बढी रकम लिने गरिएको जस्ता गुनासा यसअघि आउने गरेकाले अहिले हामीले त्यसको सुराकीका लागि काउन्टरहरुमा सादा पोशाकका प्रहरी परिचालन गरेका छौं’, पन्तले भने, ‘उनीहरुले काउन्टरमा भइरहेको गतिविधिबारे सुक्ष्म निगरानी गर्नेछन् । कानुन विपरित कार्य भएको पाइए कारबाही हुनेछ ।’

 

ट्राफिक प्रहरीले यात्रुको सहायताका लागि हेल्प डेक्सको पनि व्यवस्था गरेको छ ।

 

‘डेस्कमा यात्रुहरुको पिरमर्का तथा गुनासोलाई सुक्ष्म रुपमा अनुसन्धान गरी आवश्यक व्यवस्थापन गरिने छ’, पन्तले भने, ‘नागरिक सहायता कक्ष र टिकट काउन्टरहरुमा देखिने गरी भाडा दररेट राखेर अनिवार्य कार्यान्वय गर्ने व्यवस्था पनि मिलाएका छौं ।’

 

हाल राजधानीको कलंकी, स्वयम्भु, नयाबसपार्क, सातदोबाटो, गौशाला, चाबाहिल, बल्खु, दक्षिणकाली, कोटेश्वर, सुन्धारा, बानेश्वर, पुरानो बसपार्क, नागढुंगा र जगाती गरी १३ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।

 

ट्राफिक व्यवस्थापनसम्बन्धी कुनै समस्या भएमा ट्राफिक कन्ट्रोल १०३, प्रहरी कन्ट्रोल १०० वा ट्राफिक महाशाखाको ०१–४२१९६४१ म सम्पर्क गर्न प्रहरीले यात्रुहरुलाई आह्वान गरेको छ । 

 

त्यस्तै चाडपर्वको मौका छोपेर गाडीको क्षमताभन्दा बढी यात्रु बोक्नबाट पनि बन्देज लगाइने महाशाखाले जनाएको छ । 

 

‘क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीलाई कडाईपूर्वक कारवाही गर्छौँ, ओभरलोड दुर्घटनाको एउटा मुख्य कारण हो’ एसएसपी पन्तले भने, ‘त्यसका लागी यात्रुहरु पनी सचेत हुनुपर्छ ।’ 

 

दशैंमा सपिङ कम्प्लेक्स, मल लगायतका स्थानमा हुने भिडभाड र पार्किङको समस्यालाई समाधान गर्नका लागी खाली स्थानको पहिचान गरेर पार्किङको ब्यवस्था मिलाईने बताईएको छ । 

 

गत बर्ष काठमाडौं उपत्यकाबाट २५ लाख यात्रुहरु बाहिरिएका थिए । यस वर्ष पनि सोही अनुपातमा बाहिरीने आकलन गरेको प्रहरीले अत्यधिक चापको समयमा हुने ट्राफिक व्यवस्थापनलाई चुस्त बनाइने जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्