सामाजिक सुरक्षा कार्यक्रमका लागि १ सय ९६ प्रतिष्ठान सुचीकरण प्रकृयामा



काठमाडौं : सरकारले लागू गरेको ‘योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम’मा एक सय ९६ उद्योग/प्रतिष्ठान सामेल भएका छन् ।

सामाजिक सुरक्षा कोषले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी २० मंसीरसम्म कार्यक्रममा एक सय ९६ वटा उद्योग/प्रतिष्ठान सूचिकरण प्रक्रियामा सामेल भएको जानकारी गराएको हो । 

कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले ६ मंसीरदेखि सो कार्यक्रममा सामेल हुन आवेदन खुला गरिएको बताए ।

त्यसैगरी एक सय ९४ जना रोजगारदाता पनि सो कार्यक्रमको सूचिकरण प्रक्रियामा सामेल भएका छन् । सूचिकरण प्रक्रिया सहज बनाउन अनलाईन सेवा संचालन गरिएको पनि कोषले जनाएको छ । 

अधिकारीले कोषले ३ महिना भित्र संस्थाका कार्यरत श्रमिक तथा कर्मचारीको सूचिकरण गरिसक्नु पर्ने व्यवस्था गरिएको पनि जानकारी दिए ।

कोषले कार्यक्रम सफल बनाउन सबैलाई आह्वान गरेको छ । कोषमा रोजगारदाताको २० प्रतिशत र श्रमिकको ११ प्रतिशत गरी ३१ प्रतिशत योगदान रहने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्