थप ६ राजदूत नियुक्ति गर्ने तयारी



काठमाडौं: सरकारले थप ६ कूटनीतिक मिसनमा राजदूत नियुक्तिको तयारी गरेको छ । अब बस्ने मन्त्रिपरिषद् बैठकले विभिन्न ४ देश र दुई संयुक्त राष्ट्रसंघीय मिसनमा राजदूत/स्थायी प्रतिनिधि नियुक्तिको सिफारिस गर्ने भएको छ । परराष्ट्र मन्त्रालयले परराष्ट्रसेवाका ६ जना सहसचिवको नाम मन्त्रिपरिषद्मा बुझाइसकेको छ ।

 

कूटनीतिक स्रोतका अनुसार सहसचिव दीपक अधिकारीलाई फ्रान्स, भृगु ढुंगानालाई क्यानाडा, गणेशप्रसाद ढकाललाई थाइल्यान्ड, दुर्गाप्रसाद भन्डारीलाई कुबेत र मणि भट्टराईलाई जेनेभास्थित संयुक्त राष्ट्रसंघीय नियोगको स्थायी प्रतिनिधि सिफारिस गर्ने तयारी छ ।

 

सिफारिस भएका मध्ये अधिकारी प्रमुख शिष्टाचार महापाल हुन् भने ढुंगाना र ढकाल क्रमशः परराष्ट्रको दक्षिण एसिया र उत्तरपूर्वी एसिया महाशाखा प्रमुख छन् । यसैगरी, भट्टराई प्रशासन महाशाखा प्रमुख छन् भने भण्डारी पश्चिम एसिया महाशाखा प्रमुख हुन् ।

 

न्युयोर्कमा राई जाँदै

सरकारले न्युयोर्कस्थित राष्ट्रसंघीय मिसनको स्थायी प्रतिनिधिमा सहसचिव अमृतबहादुर राईलाई सिफारिस गर्न लागेको छ । उनी यसअघि दक्षिण अफ्रिकाका लागि नेपाली सिफारिस थिए । सरकारको निर्णयअनुसार उनी मन्त्रालय फिर्ता भइसकेका छन् ।

 

यसअघि परराष्ट्रका वरिष्ठतम भरतराज पौड्याललाई न्युयोर्क सिफारिस गर्न लागिएको थियो । तर, पौड्याललाई परराष्ट्रको भावी नेतृत्व दिन सरकारले सिफारिस नगरेको बुझिएको छ । परराष्ट्र सचिव शंकरदास बैरागीलाई मुख्यसचिव बनाउने र पौड्याललाई परराष्ट्र सचिव बनाउने गरी यस्तो निर्णय लिइएको प्रधानमन्त्रीनिकट स्रोतले बताएको नयाँ पत्रिकामा खवर छ ।

 

यसअघि सिफारिस भएका भारतका लागि राजदूत नीलाम्बर आचार्य, युएईका कृष्ण ढकाल, मलेसियाका उदयराज पाण्डे र इजरायलका लागि अन्जान शाक्यको संसदीय सुनुवाइ आइतबार हुने तय भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्