पिच बलियो कि घाँस ? कालाेपत्रे सडकमा उम्रियाे दुबो



कपिलवस्तु : गाउँगाउँमा कालोपत्रे सडक बनाउने सरकारी योजना छ । यही योजनाअनुरूप विभिन्न ठाउँमा कालोपत्रे सडक निर्माण भइरहेका छन् । तर निर्माण भएको एक वर्ष नबित्दै कपिलवस्तुको एउटा कालोपत्रे सडकमा घाँस उम्रिएको छ । 

जिल्लाको शिवराज नगरपालिका वडा नं. ५ का चारवटा कालोपत्रे सडकमा घाँस उम्रिएको छ । नगरपालिका क्षेत्रका ग्यालेक्सी टोल, रहटकोल धनगढवा सडक र गौराभारी कालोपत्रे सडकमा घाँस उम्रिएको हो । 

केसी कन्स्ट्रक्सनले निर्माण गरेको ग्यालेक्सी टोलको सडक निर्माण भएको एक महिनामै दुबो उम्रिएको हो । नगरपालिकाको उत्तर रहटकोलमा सडक कालोपत्रे भएको चार महिनामा दुबो उम्रिएपछि कामको गुणस्तरमाथि नै प्रश्न उठेको छ ।

 

त्यस्तै गौराभरीमा निर्माण भएको सडकमा तीन महिनामै घाँस उम्रिएको छ । नगरपालिकाको वडा नं. ५ मा पर्ने शिवराज रिङरोडअन्तर्गत रहटकोल धनगढवा सडकमा समेत कालोपत्रेमाथि घाँस उम्रिएको छ । नवीन कन्स्ट्रक्सन जहदा—०६, नवलपरासी निर्माण कम्पनीले बनाएको सडक निर्माण पूरा भएको ५ महिना नबित्दै घाँस उम्रिएको हो । 

८६ लाख ६४ हजार ३४ रुपैयाँ लागतमा ती सडक निर्माण भएका हुन् । उपभोक्ताले निर्माण कम्पनीको लापारबाहीका कारण सडकमा घाँस उम्रिएको बताए । प्राविधिक रूपले कमसल भएकाले कालोपत्रे सडकमा दुबो पलाएको स्थानीय उपभोक्ता हरिविक्रम थारुको भनाइ छ । नगरपालिकामा सडक निर्माण गर्दा १० देखि १५ सेन्टिमिटर बेस, २ सेन्टिमिटर कालोपत्रे म्याटेरियल हुनुपर्नेमा सोभन्दा कम सामग्री प्रयोग गरिएकाले घाँस उम्रिएको जानकारहरू बताउँछन् । 

कालोपत्रे गरेको केही महिना नबित्दै घाँस उम्रिन थालेपछि स्थानीयले सडक स्तरीय नभएको गुनासो गर्न थालेका छन् । निर्माण कम्पनी र प्राविधिकको मिलेमतोमा गुणस्तहीन सडक बनाइएको स्थानीयको आरोप छ । काम सक्ने हतार, कमसल सामग्री प्रयोग र इस्टिमेटअनुसारको काम नहुँदा कालोपत्रे सडकमा घाँस उम्रिएको स्थानीय गुरुप्रसाद विकले बताए । 

घाँस उम्रिन थालेको सडकको आयु ८ देखि १० वर्ष तोकिएको छ । सडकको सबबेस बसालेको लामो समयपछि पिच गरेको, सडकमा अन्यत्रको माटो पटान गरी लामो समय राखेर कालोपत्रे गर्ने बेला पुनः रोलिङ नगरी कालोपत्रे गरिएको, आवश्यकताभन्दा कम मिस्कट र डस्ट गिट्टी प्रयोग गरी बेस राखिएकाले कालोपत्रेमा घाँस उम्रिएको हुन सक्ने सडक इन्जिनियर राजेश सैनीले बताए ।

 

यता सडक निर्माणकै काम गर्दै आएका एक ठेकेदारले भने निर्माण कम्पनीले बेसमा इस्टिमेटअनुसारको सामग्री प्रयोग नगरेकाले सडकमा घाँस उम्रिएको दाबी गरे । निर्माणकार्यको अनुगमन नहुँदा सडकको गुणस्तर कायम हुन सकेको छैन ।

(कपिलवस्तुबाट सनिउल्ला धोबी)

प्रतिक्रिया दिनुहोस्