एचआइभी सारेर लाेग्नेकाे निधनपछि पत्नीकाे बिजाेग



डोटी : दीपायल सिलगढी नगरपालिकाकी एक महिलालाई एचआइभी सङ्क्रमण भएको सात वर्ष भयो । तीन सन्तानकी आमा उनी परिवार पाल्नकै लागि सदरमुकाममा दैनिक ज्यालादारीमा जोखिमपूर्ण काम गर्दै आएकी छन् ।

 

डोटीकै पूर्वीचौकी गाउँपालिकाकी अर्की महिलाको अवस्था पनि उस्तै छ । श्रीमानले भारतमा गएर कमाइ गरेर घरपरिवार राम्रै चलेको थियो । एचआइभी सङ्क्रमणका कारण श्रीमानको ज्यान गयो तर उनले सारिदिएको एचआइभीले ती महिलाको जीवन कष्टकर बनाइदियो । त्यसमाथि श्रीमानको मृत्युपछि चार छोराछोरीको सम्पूर्ण जिम्मेवारी उनकै काँधमा आयो । छोराछोरी कसरी पाल्ने भन्ने चिन्ताले दिनहुँ उनलाई सताइरह्यो ।

 

उनीमात्रै होइन, अरु पनि एचआइभी सङ्क्रमित एकल महिलालाई बालबच्चा कसरी हुर्काउने भन्ने चिन्ताले पिरोलिरहेको हुन्छ । डोटीमात्र नभई समग्र सुदूरपश्चिम प्रदेशका एचआइभी सङ्क्रमित महिलालाई साँझबिहान हातमुख जोड्न नै धौधौ छ । 

 

विभिन्न सङ्घसंस्थाले गरेको अध्ययनअनुसार यस क्षेत्रका सङ्क्रमितमध्ये अधिकांश भारतबाट काम गरेर फर्कने छन् । एचआइभी सङ्क्रमित भई घरमा कमाउने श्रीमानको मृत्यु भएपछि एकल हुन पुगेका महिला एचआइभी सङ्क्रमणको समस्याका साथै घरपरिवारको समेत जिम्मेवारी सम्हाल्न परेपछि आर्थिक समस्याका कारण थप पीडामा पर्ने गरेको पूर्वी चौकीका स्थानीय एवं सञ्चारकर्मी चक्रबहादुर कठायतले बताए । 

यस क्षेत्रका अधिकांश पुरुष कामका लागि भारतका विभिन्न सहरमा जाने गर्छन् । ‘कमाउन गएका श्रीमानले भारतबाट एचआइभी बोकेर आउँछन् र श्रीमतीलाई सार्छन्’, कठायतले भने, ‘श्रीमतीलाई बाँचुन्जेलको पीडा हुन्छ, पुरुष सकेसम्म एचआइभीको जाँच गराउन मान्दैनन् ।’

 

अन्तिम अवस्थामा जँचाउन आउने गरेका कारण मृत्यु हुने र परिवारमा समेत एचआइभी सङ्क्रमणको खतरा हुने उपचारमा संलग्न स्वाथ्यकर्मी बताउँछन् । कामका लागि भारत गएका श्रीमानले महिलालाई पनि सङ्क्रमणमा पारेपछि एचआइभी सङ्क्रमित भन्दै परिवार र समाजको समेत भेदभावको सामना गर्नुपरेको छ । 

 

एचआइभी सङ्क्रमित भई भारतबाट घर फर्केका समेत उपचारपछि पुनः काम गर्न उतै जाने क्रमसमेत बढेको छ । केही एचआइभी सङ्क्रमित एकल महिला विभिन्न संस्थाले आयोजना गरेको महिला लक्षित कार्यक्रमबाट तालिम लिएर आयआर्जनमा सक्रिय हुन थालेका छन् । 

सुदूरपश्चिम प्रदेशमा छ हजार ७ सय २४ एचआइभी सङ्क्रमित रहेको प्रदेश स्वास्थ्य निर्देशनालय दीपायलका जनस्वास्थ्य अधिकृत रमेश मलासीले जानकारी दिए । उनका अनुसार तीन हजार ७६ जनाले एआरटी सेवन गरिरहेका छन् । 

 

आर्थिक वर्ष २०७४/७५ सम्मको तथ्याङ्कमा यस प्रदेशमा ६ सय ७६ जनाले एचआइभी एड्सका कारण ज्यान गुमाएका छन् । गत आवमा मात्रै २ सय ४७ नयाँ सङ्क्रमित देखिएका छन् । निर्देशनालयका अनुसार एचआइभी परीक्षण तथा परामर्श केन्द्र प्रदेशका २० स्थानमा छन् ।

 

एआरटी सेवन गर्नेले प्रदेशका १४ स्थानबाट सेवा प्राप्त गरिरहेको जनाइएको छ । जिल्ला अस्पताल डोटीको एआरटी सेन्टरका अनुसार जिल्लामा एचआइभी सङ्क्रमितको सङ्ख्या ९ सय ५८ छ । तीमध्ये महिला ५४८ जना छन् ।

रासस

प्रतिक्रिया दिनुहोस्