मध्यरातमा क्लबमा भागदौड मच्चिँदा ६ जनाको ज्यान गयो



रोम (इटाली) : इटालीको मध्य क्षेत्रमा अवस्थित एक रात्रिक्लबमा गएको राति भएको भागदौडमा परी कम्तीमा छजनाको ज्यान गएको छ । इटालीका अग्निनियन्त्रकहरूका अनुसार राति एक बजेको समयमा आकस्मिक खलबली मच्चिएको र त्यसपछि क्लबमा भएका युवाबीच भागदौड मच्चिएको थियो । 

 

अग्नि नियन्त्रण सेवा प्रदायक स्थानीय कार्यालयले ट्वीटरमार्फत प्रेषित एक विज्ञप्तिमा भनेको छ, ‘एउटा पिरो गन्धसहितको वस्तुलाई मानिसहरूको भीडबीच कसैले छर्केपछि डरले भागदौड मच्चिँदा कतिपय व्यक्ति लडेका थिए । उनीहरूलाई अन्य व्यक्तिले हतारमा कुल्चेर भाग्ने क्रममा उक्त दुःखद घटना भएको प्रारम्भिक अनुमान छ ।’ 

 

एड्रियाटिक सामुद्रिक तटीय क्षेत्रमा रहेको एन्कोना राज्यको कोरिनाल्डो सहरस्थित ब्लु लानटर्न क्लबमा भागदौड मच्चिएको एएफपीले जनाएको छ । क्लबमा करिब एक हजार व्यक्तिले मनोरञ्जन गरिरहेका बेला एक्कासी भागदौड मच्चिएको हाे ।

‘हामी कन्सर्टको पर्खाइमा नाचेर मनोरञ्जन गरिरहेका थियौं, त्यति नै बेला क्लबमा जब अति तीखो गन्ध फैलियो,’ घटनामा घाइते भई उपचाररत १६ बर्षीय युवकले भने । उनले थपे, ‘त्यसपछि हामी क्लबको एउटा आकस्मिक प्रस्थान गेटमा पुग्यौं तर क्लबका सुरक्षागार्ड (बाउन्सर) ले फिर्ता हुन भनेपछि फर्कियौं । त्यति बेला भागदौडका कारण चोट लाग्यो ।’

प्रतिक्रिया दिनुहोस्