फेरि अनसन बस्ने डा. गोविन्द केसीकाे चेतावनी, मागे मन्त्री पोखरेलको राजीनामा



काठमाडौं: चिकित्सा शिक्षा विधेयक कार्यान्वयनको माग गर्दै आएका डा.गोविन्द केसीले सरकारले आफुलाई ब्ल्याकमेलिङ गरेको बताएका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै डा.केसीले सरकारले आफ्ना माग सम्बोधन गर्ने आश्वासन दिएपनि अहिले सम्म पूरा नगरेर ब्ल्याकमेलिङ गरेको आरोप लगाएका हुन् ।

 

‘सरकारले माग सम्बोधन गर्ने सवालमा बारबार धोका दिएको छ’ पत्रकार सम्मेलनमा केसीले भने, ‘त्यसकारण जुन सुकै समयमा पनि १६ औं अनशन सुरु गर्नसक्छु ।’ उनले अबको अनसन कहाँ र कहिले बस्ने भन्ने कुराको बारेमा जानकारी कसैलाई नदिने पनि बताए । 

 

गलत नेतृत्व र गलत नेताको कारण माग सम्बोधन नभएको भन्दै डा. केसीले सत्तामा रहेका पार्टीभित्र भ्रष्ट नेता भएको भएको भन्दै सरकार जनताप्रति उदासिन रहेको टिप्पणी गरे । पत्रकार सम्मेलनमा उनले शिक्षामन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा सम्बन्धि आफुले उठाएका माग सम्बोधन गर्न चासो नदेखाएकाले मन्त्री पोखरेलको राजीनामा समेत मागे । 

 

‘अध्यादेशलाई तोडमोड गरेर संसदमा विधेयक प्रस्तुत गर्नु र चिकित्सा शिक्षा ऐन बनाउने दायित्व बोकेका सरकारी विभागीय मन्त्री नै प्रधानमन्त्री स्वयंको पहलमा भएको सम्झौताविरुद्ध संसदको शिक्षा तथा स्वास्थ्य समितिमा विचाराधीन रहेको विधेयकमा अवरोध गर्नु गैरजिम्मेवारपूर्ण भएकाले शिक्षामन्त्री पोखरेल सो पदमा रहिरहनु नैतिक रुपमा अशोभनीय हुन्छ’ केसीले विज्ञप्तिमा भनेका छन् । 

 

डा.केसीसँग १५ औं अनसनका क्रममा सरकारले गरेको सहमतिअनुसार शिक्षा विद्येयक संसदबाट पारित गर्नुपर्नेमा नगरिएकोमा डा.केसीले आपत्ति जनाएका छन् ।  सो विद्येयक अहिले शिक्षा तथा स्वास्थ्य समितिमा विचाराधीन रहेको छ । 

 

प्रतिक्रिया दिनुहोस्