चेपाङ विद्यार्थीका लागि स्वेटर वितरण 



चितवन : महालक्ष्मी विकाश बैंक खुरखुरे शाखाले चेपाङ विद्यार्थीका लागि स्वेटर वितरण गरेको छ । बैंकले राप्ती नगरपालिका वडा नं. १०, कोराकमा रहेको आधारभूत विद्यालयका चेपाङ विद्यार्थीलाई स्वेटर बाँडेको हो । 

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत १ सय ५ विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको शाखा प्रबन्धक पुष्पराज रिजालले जानकारी दिए । ‘कोराकमा चेपाङ समुदायको बाहुल्यता छ, जसको आर्थिक अवस्था अत्यन्तै कमजोर छ,’ उनले भने, ‘कतिपय चेपाङ बालबालिका जाडोमा एकसरो कपडा मात्रै लगाएर विद्यालय आउने गरेको हामीले थाहा पायौँ । त्यसैले जाडोबाट जोगिउन् भनेर बैंकले चेपाङ विद्यार्थीलाई स्वेटर वितरण गरिएको हो ।’

कार्यक्रममा शाखा प्रबन्धक रिजाल र राप्ती नगरपालिका वडा नं. १० का अध्यक्ष अम्बर बहादुर तामाङले विद्यार्थीलाई स्वेटर हस्तान्तरण गरेका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष तामाङले यो सहयोगले चेपाङ विद्यार्थीलाई जाडोबाट बचाउन मदत गर्ने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रलाल प्रजाले स्वेटर वितरणले चेपाङ विद्यार्थीलाई जाडो मौसममा पनि नियमित विद्यालय आउन र पठनपाठनमा नियमित सहभागी हुन सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्