मतदाता रिझाउन विकास बजेट काटेर ग्यास सिलिन्डर



बर्दिया : स्थानीय तहको निर्वाचनमा गुलरिया नगरपालिका ८ र ९ का वडाध्यक्षका उम्मेदवारले घरघरमा ग्यास सिलिन्डर वितरण गर्ने वाचा गरेका थिए ।

अहिले सोही वाचा पूरा गर्न टेन्डर आह्वान गर्ने तयारी गरेका छन् । उनीहरूले विकास बजेट कटौती गरी ग्यास सिलिन्डर वितरणको तयारी थालेका हुन् ।

भारतीय सीमासँग जोडिएका ती वडामा दाउराको ठूलो समस्या छ । वडा नम्बर ९ मा झन्डै ४ सय घरधुरी छन् । गुलरिया ९ का वडाध्यक्ष हरिप्रसाद पासीले जंगल क्षेत्र नभएकाले यहाँका बासिन्दालाई भारतमा दाउरा लिन जानुपर्ने बाध्यता रहेको सुनााए । ‘त्यहाँका वन सुरक्षाकर्मीबाट गाली बेइज्जती सहनुपर्ने बाध्यतालाई समाप्त पार्न ग्यास सिलिन्डर वितरणको तयारीमा लागेका छौं,’ उनले भने, ‘१५ लाख बजेटमा ग्यास खरिद टेन्डर प्रक्रियामा छ ।चुलो भने उपभोक्ता स्वयंले खरिद गर्ने छन् ।’

 

गत वर्ष नगरपालिकामा यस विषयमा विवाद भएपछि बजेट पारित भएको थिएन । व्यक्ति विशेषलाई विकास बजेट खर्च गरी ग्यास सिलिन्डर खरिद गरी दिँदा सरकारको नीति एकातिर र कार्यक्रम अर्कोतिर हुने भन्दै केही जनप्रतिनिधिले विरोध गरेपछि बजेट पारित हुन सकेको थिएन ।

पछि सुटुक्क वडा नम्बर ९ ले झन्डै १५ र ८ ले १४ लाख रुपैयाँ ग्यास सिलिन्डर खरिदका लागि छुटयाएका छन् । थप तीन वर्षमा सबै घरमा ग्यास सिलिन्डर वितरण गरिने वडाध्यक्ष पासीको दाबी छ ।

 

निर्वाचनका समयमा आफ्नै तलबभत्ता कटौती गरी ग्यास सिलिन्डर खरिद गरिदिने वडाध्यक्षका वाचा अहिले आएर गलत साबित भएको स्थानीयले बताए । विकास बजेट कटौती गरी खरिद गर्दा पिछडिएको ठाउँ झन् पछि पर्ने उनीहरूको गुनासो छ ।

 

निम्न आय भएका यहाँका बासिन्दा अधिकांश किसान र मजदुरी पेसामा छन् । गोबर र बायो ग्यास घरघरमा जडान गर्नुको सट्टा ग्यास सिलिन्डर दिनु उपयुक्त नभएको गुलरिया नगरपालिकाका प्रशासकीयअधिकृत रामचन्द्र पौडेलले बताए ।गुलरिया नगरपालिकामा रहेका १२ वडामा १/१ करोड विकास बजेट र १२ लाख रुपैयाँ कार्यालयका लागि छुट्याइएको छ । वडा नम्बर ८ मा महिला लक्षित कार्यक्रम अन्तर्गत ८ लाख रुपैयाँ बजेटछुट्याइएको छ ।

 

जस अन्तर्गत विपन्न महिलाका नाममा सिलाइकटाइ तथा व्युटी पार्लर तालिमका लागि ६ लाख रुपैयाँ रहेको छ । वडा नम्बर ८ का जनप्रतिनिधि र कार्यालयका कर्मचारीलाई भ्रमणबापत १ लाख रुपैयाँ बजेट छुट्याइएको नगरपालिकाले जनाएको छ ।

 

वडा नम्बर ८ ले अवलोकन भ्रमणबापत २ लाख रुपैयाँ बजेट छुट्याएको छ । यस वडामा बालबालिका, युवा तथा महिलाका लागि सिलाइकटाइ तालिमबापत ४ लाख ५० हजार रुपैयाँ छुट्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्