महिला हिंसाले जन्माएको कुशल चित्रकार



काठमाडौं : जो कोहीलाई पनि लाग्न सक्छ, जीवनमा आफू ठूलो र असल मान्छे बनूँ, सबैले चिनून्, वाह वाह गरुन् । तपाईको जस्तै चाहना छ–सर्लाही हरिपूर्वाकी २३ वर्षीया मनिषा साहको । तपाईले सोच्नु भयो होला डाक्टर, इञ्जिनियर, राजनीतिज्ञ अथवा अभिनयकर्ता तर उनी कोही होइनन् । तपाईले सोचेभन्दा फरक इच्छा छ उनको, ‘मिथिला चित्रकार बन्ने ।’

चित्रकार त अहिले धेरै छन् तर मिथिला चित्रकार नगन्य मात्रामा छन् । तर सोचेजस्तो चित्रकार बन्न उनलाई कहाँ सजिलो छ र ? छोरीलाई डाक्टर वा इञ्जिनियर बनाउने चाहना थियो, उनका बुबाआमाको । जो कोहिले आफ्ना बुबाआमाका कुरा पनि त काट्न सक्दैनन् ।

अहिले पनि अभिभावकले के भन्छन् त्यही गर्नुपर्छ भन्ने मान्यता छदैछ । कतिपयले आफ्नो चाहाना अनुसारको काम गर्न संर्घष नै गर्नुपर्छ । परेको बेला आर्थिक रुपमा पनि कसैले सहयोग गर्दैनन् । मनिषाको जीवनमा पनि त्यही भयो ।

बुवा आमाकै लागि भनेर प्लसटुमा विज्ञान विषय लिएर पनि पढिन् । त्यसपछि भने उनलाई पढ्नै मन लागेन र एक वर्ष नपढी बसिन् ।

तर उनले पछि सोचिन् मैले अरुको लागि हैन आप्mनै लागि पढ्नु पर्छ । त्यसपछि सुरु गरिन् ललित कला क्याम्पसमा फाइन आर्टस् पढ्न ।

एक त तराइमा जन्मिएकी अनि महिला, उनको बच्चैदेखिको इक्छा थियो चित्र कोर्ने ।

उनी स्कुलमा चित्रकला प्रतियोगितामा भाग लिने गर्थिन् । शिक्षक, विद्याथीले पनि गर्नुपर्छ भनेर हौसला दिन्थे । यसले उनको आत्मबल बढाएको थियो । तर यसलाई प्रस्फुटन हुनदिने घरायसी वातावरण थिएन । त्यसपछि उनले चित्र कोर्ने काम बिस्तारै कम गर्दै जान थालिन् ।

त्यसैबीचमा उनले फेसबुक पनि चलाउन थालिन् । एक दिन फेसबुक मार्फत् नै उनले दुव्र्यवहार भोग्न बाध्य भइन् । फेसबुकमार्फत् भोगेको दुव्र्यवहारले उनलाई चिकित्सक बन्ने लक्ष्य त्यागेर चित्रकारितातिर डोर्यायो ।

उनले फेसबुकमा राखेको तस्वीर प्रयोग गरेर कसैले उनको नाममा फेक एकाउन्ट बनाइदियो र त्यसमा असली मोबाइल नम्बर पनि राखिदियो ।

अनि अकाउन्टबाट अश्लिल स्टाटस् राख्न थाल्यो । त्यसले गर्दा उनलाई साथी भाइदेखि परिवारका सदस्यसम्मले नराम्रो सोच्न थाले, हेला पनि गर्न थाले ।
आफूले गर्दै, नगरेको कामको सजाय भोग्न बाध्य भएकी उनी भन्छिन्, ‘त्यतिखेर कसैको सहयोग पाइन ।’ प्रहरी कहाँ गएर उजुरी दिइन् । तर, प्रहरीले यस्तो एकाउन्ट खोल्ने व्यक्ति पत्ता लगाउन सकिने प्रविधि नेपालमा नरहेको जवाफ दिए । त्यसपछि उनी निराश बनिन् ।

‘मैले जे जस्तो दुव्र्यवहार खेप्नुपर्यो,’ उनी भन्छिन्, ‘अरु महिलाले नपरोस् भन्ने लाग्छ । त्यसका लागि पनि म चित्रकार बन्न लागेको हो । चित्र बनाएर चेतना जगाउन खोजेकी हुँ ।’

काठमाडौंको ललितकला क्याम्पसमा स्नातक तेस्रो वर्षमा अध्ययनरत मनिषा महिला उत्पीडनको थुप्रै कथाहरु विभिन्न समारोहमा चित्रमार्फत् देखाउँदै आएकी छन् । सुरुमा थाह थिएन, उनलाई फाइन आर्टस पनि पढाइ हुन्छ भनेर । जनकपुरका एक आर्टिस्टको सहयोगमा उनी काठमाडौं आइन् । ललितकला क्याम्पसमा अध्ययनरत १ सय २० जना विद्यार्थीमध्ये मनिषा एक्ली छात्रा थिइन् । त्यसमा पनि मिथिला चित्रकला पढ्दै गरेकी केवल उनीमात्र ।

उनी भन्छिन्– ‘जिन्दगीमा पैसा कमाउन नभई पहिचान बनाउन चित्रकलामा लागेकी हुँ । पैसा त जसरी जसले पनि कमाउन सक्छन् । तर इज्जत र पहिचान बनाउन जो कोहीले सक्दैनन् । सफल हुनेहरु यस कारणमा भएका हुन्छन् कि जिन्दगीमा उनीहरुले ठूलो संघर्ष, मेहनत र परिश्रम गरेका हुन्छन् ।
यदि डक्टर पढेको भए मलार्ई कसैले चिन्दैन थिए, पहिचान हुँदैन थियो ।’

‘इक्छाशक्ति हुने हो भने जुनजसुकै काम गर्न पनि सजिलो हुन्छ, यो काम मलाई गह्रो लाग्दैन, उनी भन्छिन् । उनले महिला हिंसा, सामाजिक हिंसा, मोडर्न आर्ट र मिथिला आर्ट क्यानभासमा उतार्छिन् । यसमा पनि मिथिला चित्र कोर्दाका बखत उनमा भिन्न र असीम आनन्द पैदा हुने गर्छ ।

आर्टका विविध विधामा पढाइ हुँदा पनि मिथिला आर्ट ती विधामा समेटिन नसक्दा उनलाई नराम्रो लाग्छ । मिथिला आर्ट पढ्न चाहनेका लागि शिक्षक पनि छैनन् । जनचेतनाको कमी छ । अब उनको एउटै चाहना के छ भने ललितकलामा मिथिला आर्ट एक अभिन्न र महत्वपूर्ण विषयको रुपमा अध्ययन÷अध्यापन होस् । मिथिला चित्रकला भनेको नेपालको पहिचान हो । नेपालमा यसको महत्वका बारेमा खासै चासो नभए पनि विदेशमा भने नेपाल र नेपाली भनेर चिनाउने एउटा सशक्त माध्यम हो मिथिला चित्रकला ।

फगत चित्रकलाभन्दा मिथिला आर्टले यसको पछाडी विराट इतिहासलाई बोकेको छ । राम र सीताको बिहेको सजावटबाट सुरु भएको मिथिला पेटिंग आमजनमानसका बीचमा छाएको छ । मिथिलावासी सबैका घरको भित्तामा र फेस्टिबल विशेषमा गरिएका रंगरोगन र चित्रकारितामा यसको प्रभाव र गहिराइलाई नियाल्न सकिन्छ । यो एउटा सजावटको काम मात्र होइन, सिर्जना र क्षमता विकासको काम पनि हो । घरमा बसेका महिला, जो फुर्सदिला छन्, पढेलेखेका नभए पनि उनीहरुलाई तालिम दिएपछि निकै दक्षताका साथ यो काम गर्न सक्छन् । यो उनीहरुको मानसपटलमा गहिरो छापसहित बसेको संस्कृति पनि हो । यसले रोजगारी र सहज जीविकोपार्जनलाई सहयोग पुर्याउँछ ।

‘गाउँका भाइबहिनीले उनलाई भन्छन्, मलाई पनि यस्तो चित्र कोर्न मन छ, तर कसले सिकाउने’, उनी आफै प्रश्न गर्छिन् । प्रारम्भिक शिक्षा हासिल गर्दा स्कुलबाटै यो विषय पढाइ हुनुपर्छ । मोनास्टिक विद्यालयबाट एस्एल्सी गरेकी उनको चित्रकारिता किटाणुहरु मानिसको शरीरमा कसरी छिछर्न् भनी कोरिंदै गर्दाको चित्रकारिताबाट सुरु भयो । घरमा सबैले भन्ने गर्दथे– ‘चित्र नकोर, चित्रकोर्दा सानोसानो काम हुन्छ, रङ आँखामा पर्नसक्छ र असर गर्छ ।’ तर उनले सोचिन् कि केही पाउन केही गुमाउनु पर्छ ।

पहिलेपहिले पातबाट नेचुरल रङ बनाउने गरिन्थ्यो । अहिले आर्टिफिसियल रङको प्रयोग भइरहेको छ, नेपाली पेपरमा । मिथिला आर्टमा नयाँ प्रविधिले गर्दा पहिलाको भन्दा अलि केही फरकपन देखिन थालेको छ । पेपर फरक–फरक छन्, पहिले कपडामा गरिन्थ्यो । क्यानभास पेपर छुट्टै छ । वाल पेन्टिङ पनि गरिन्छ । उनले मोडर्न चित्र पनि कोर्छिन् । तर मिथिला चित्रकला नै झल्किएको देख्छन् उनका साथीहरु ! यो जननी र जन्मभूमिले पारेको प्रभाव बताउँछिन् उनी ।

केही वर्षयता मात्र चित्र कोर्न थालेकी मनिषा धेरैजसो महिला र महिला हिंसासँग सम्बन्धित चित्र बनाउँछिन् । उनी भन्छिन्, ‘पछिल्लो समय सामाजिक सञ्जालका कारण बढ्दै गएको महिला हिंसा, बलात्कारजस्ता घटना न्यूनीकरण गर्न र सामाजिक सञ्जालमा बढेको विकृतिसम्बन्धी आममानिसलाई जनचेतना जगाउन चित्रकारिता एउटा सहज र सर्वस्वीकार्य माध्यम हो जस्तो लाग्छ ।’
किनकि चित्रकला एउटा यस्तो माध्याम हो, जसमार्फत् नपढेलेखेका मानिस पनि दिन खोजेको सन्देश सजिलै बुझ्न सक्छन् । भनिन्छ हजारौं अक्षरले दिन खोजेको सन्देश एउटै चित्रले दिन्छ ।

तर नेपालजस्तो देशमा मिथिला चित्र कोर्न त्यति सजिलो नभएको उनको भनाइ छ । उनी भन्छिन्, ‘आर्ट ग्यालरीहरु खोलेर पनि जीविकोपार्जन गर्न त सकिन्छ, तर सरकारी स्तरबाट यसको पहल गरिनुपर्छ । यो त लोकसेवामा पनि समावेश हुनुपर्छ । नेपालमा चित्र कोर्नेलाई खासै राम्रो मान्ने चलन पनि छैन ।’

उनका साथीहरु डाक्टर, इञ्जिनियर छन् । उनीहरुले उनको कामको प्रशंसा गर्छन् । उनीहरुको पहिचान भन्दा उनको पहिचान बनिसकेको छ । सोचेभन्दा बढि सफलता हासिल गरेजस्तो लाग्छ उनलाई ।

उनको भाइबहिनीलाई पनि चित्रकलामा नै लाग्ने रहर थियोे र छ पनि । तर नेपालमा चित्रकलालाई खासै प्राथमिकता नदिएकाले अरु नै बन्न बाध्य छन् ।
उनी अहिले यस अवस्थामा आइपुग्दासम्म उनको अनुभूतिमा स्वतन्त्रता छैन, फिल्ड भिजिट गर्नुपर्छ, अनुसन्धान गर्नुपर्छ, राती घरबाहिर बस्न अनुमति छैन । बेलुका ढिला भयो भने नराम्रो प्रश्न आउँछ । यो काम बेलुका वा राती शान्त वातावरणमा आफ्नो मुडअनुसार गर्नुपर्ने हुन्छ, तर यसका लागि आवश्यक स्वतन्त्रताको खोजी गरिरहेकी छिन् उनी ।

प्रतिक्रिया दिनुहोस्