भ्रातृसंस्थाको अधिवेशन टुंगो लगाउन कांग्रेसले बनायो सात सदस्यीय समिति



कांग्रेसले भ्रातृ, शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क समितिको अधिवेशन, विधान, नयाँ आवेदनसहितको विषयमा टुंगो लगाउन सात सदस्यीय समिति गठन गरेको छ । विभिन्न भ्रातृसंस्थाको विधानमा समान मापदण्डको मागपछि केन्द्रीय समिति बैठकले एनपी साउदको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको हो । समितिमा नवीन्द्रराज जोशी, प्रदीप पौडेल, गुरु घिमिरे, श्याम घिमिरे, गोविन्द भट्टराई, ईश्वरी न्यौपाने सदस्य छन् । 

उनीहरूलाई विधानलाई परिमार्जन गर्ने, एकरूपता दिने, नयाँ निवेदन परेका भ्रातृ, शुभेच्छुक, जनसम्पर्क समितिको विषयमा निर्णय गर्न जिम्मा दिइएको केन्द्रीय सदस्य श्याम घिमिरेले जानकारी दिए । दुई साताभित्र पदाधिकारीमार्फत तयार प्रतिवेदन केन्द्रीय समितिमा बुझाउनुपर्नेछ । राजनीतिक प्रस्तावलाई संशोधनसहित पास गर्ने निर्णय पनि बैठकले गरेको छ । 

सरकारको भ्रष्टाचारविरुद्ध अभियान चलाउने, विधेयकबारे संसद्मा खरो उत्रिने निर्णय पनि कांंग्रेसले गरेको छ । २२ असारदेखि पटक–पटक गरी १६ दिन बसेको बैठकले १४ वटै एजेन्डालाई सर्वसम्मतिका साथ निर्णय गरेको जनाएको छ । तर, मंगलबार रातिसम्म बैठक बसे पनि निर्णय भने बुधबार बिहान मात्रै सार्वजनिक गर्ने कांग्रेसको तयारी छ ।

विवादित देशका जनसम्पर्क समितिको विवाद मिल्यो
यसअघिदेखि नै विवादमा परेका क्यानाडा, बेल्जियम र अस्ट्रेलियाको जनसम्पर्क समितिको विवाद मिलाइएको छ । केन्द्रीय प्रतिनिधिले गएर अधिवेशन गरेकोलाई यी देशमा मान्यता दिइएको हो । बेल्जियममा सीता सापकोटा र अस्टे«लियामा कृष्ण गिरीको कमिटीलाई मान्यता दिइएको हो । विवाद नभएका देशले ६ महिनाभित्रै अधिवेशन गर्नुपर्नेछ । 

 भ्रातृसंस्थाको अधिवेशन ६ महिनाभित्र
नियमित कार्यकाल सकिएर वर्षौंसम्म अधिवेशन नभएका विभिन्न भ्रातृसंस्थाको अधिवेशन ६ महिनाभित्र गर्नुपर्ने निर्णय पनि कांग्रेले गरेको छ । समय सकिएको भ्रातृसंस्थाका कार्यसमितिलाई अधिवेशन तयारी समितिमा रूपान्तरण गरिएको जानकारी केन्द्रीय सदस्य घिमिरेले दिए । २४ भदौदेखि सुरु हुने ३३० प्रदेशस्तरीय राष्ट्रिय जागरण अभियानलाई पनि प्रभावकारी बनाउने कांग्रेसको तयारी छ ।  यो समाचार आजको नायँपत्रिकामा छ ।

प्रतिक्रिया दिनुहोस्