एसिड प्रहार अपडेट : प्रेम प्रस्ताव अस्वीकार गर्दा मुस्कानमाथि एसिड प्रहार, एक पक्राउ एक फरार



वीरगञ्ज : प्रेम प्रस्ताव अस्वीकार गर्दा पर्साको वीरगञ्जमा शुक्रबार बिहान करिब ६ः३० बजेतिर एक किशोरीमाथि एसिड प्रहार भएको छ । वीरगञ्ज ११ श्रीपुर घर भई हाल छपकैया ३ मा डेरा गरी बस्दै आएकी १५ वर्षीया मुस्कान खातुनमाथि महानगरपालिका ४ गणेशमान चौकमा एसिड प्रहार भएको हो ।

वीरगञ्ज २ छपकैयाका माजिद मियाँ हजार र सम्साद मियाँ हजारले एसिड प्रहार गरेको पर्सा प्रहरीले जनाएको छ । प्रेम प्रस्ताव अस्वीकार गरेपछि खातुनमाथि एसिड प्रहार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।

एसिड प्रहारबाट खातुन गम्भिर घाइते भएकी छन् । उनलाई तत्काल उद्दार गरी वीरगञ्जको नारायणी अस्पतालमा भर्ना गरिएको थियो । तर, त्यहाँ उपचार सम्भव हुन नसक्ने भएपछि थप उपचारको लागि काठमाडौं रेफर गरिएको अस्पतालका चिकित्सकले जनाएको छ ।

एसिड प्रहारबाट खातुनको दाहिने खाला पट्टीको भाग, घाँटी, छाती र हात जलेको छ । उनको अवस्था चिन्ताजनक रहेको चिकित्सकहरुले जनाएको छ ।

शुक्रबार बिहान वीरगन्जको ६ नम्बर गेट नजिकै रहेको श्री त्रिभुवन हनुमान माध्यमिक विद्यालय गाइरहेक उनलाई बीच बाटोमै रोकेर ती युवकहरुले एसिड प्रहार गरेको प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले बताए ।

कक्षा ९ मा अध्ययनरत खातुनलाई माजिक मियाँ हजारले एकतर्फी प्रेम गर्दै आएका थिए । मुस्कानलाई माजिदले पटक–पटक प्रेम प्रस्ताव राखेका थिए । तर, मुस्कानले उनको प्रेम प्रस्ताव अस्वीकार गरेका थिए ।

एसिड प्रहार गरी भाग्न खोज्दा माजिदसँगै रहेका सम्सादलाई स्थानियले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका हुन् । मुख्य आरोपी भन्ने माजिद भने फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

??

एसिड प्रहारबाट घाइते भएकी मुस्कानको उपचारका लागि पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले आर्थिक सहयोग गरेका छन् ।

यादवले ५० हजार र सरावगीले १५ हजार आर्थिक सहयोग गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्