‘मकैजोन’ बाँदर र बँदेलको बिगबिगीका कारण मकैबारी सिमित हुँदै



बैतडी : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बैतडीलाई मकैजोन घोषणा गरी मकै खेती गरिए पनि बाँदर र बँदेलका कारण मकै संरक्षण गर्न धौधौ परेको छ । मकै उत्पादन मात्र होइन, प्रशोधन र प्रवद्र्धन गर्ने उद्देश्यका साथ कार्यालय स्थापना गरी खेती थालिए पनि मकै उत्पादनमा ह्रास आउने देखिएको छ ।

किसानलाई हौस्याउँदै मकै उत्पादनका लागि भनेर बीऊ वितरण गरी उत्पादित मकै निस्चित दररेटमा खरिद गरिदिने भने पनि बँदेल र बाँदरका कारण मकै उत्पादन निकै घट्ने भएको छ ।

बैतडीको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, सूर्नया, दोगडाकेदार र पञ्चेश्वर गाउँपालिकालाई मकै जोनको क्षेत्रभित्र पारी मकै उत्पादन कार्यक्रम लागू गर्न खोजिए पनि मकै बालीको संरक्षणमा निकै समस्या देखा परेको छ ।

मकैजोन सँगै स्थापना गरिएको कृषि ज्ञान केन्द्रले पनि जंगली जनावरबाट मकै कसरी जोगाउने भन्ने बारेमा आफूहरुसँग कुनै उपाय नभएको बताएको छ ।

उता सामुदायिक वनको संरक्षण र विकाससँगै जंगली जनावरहरु पनि बढ्दै गएकाले मकै खेती गरिएको क्षेत्र वरिपरि काँढे तारबार लगाई पालेपहरा नदिइकन फललाग्दै गरेको मकै जोगाउन सकिने अवस्था छैन । गत वर्ष बैतडीमा १९ हजार ७६४ मेट्रिक टन मकै उत्पादन भएको थियो ।

आर्थिक वर्ष २०७३-७४ मा २३ हजार मेट्रिक टन मकै उत्पादन भएको थियो । यो आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षभन्दा कम मकै उत्पादन हुने भएपछि उत्पादन दर प्रत्येक वर्ष उँधो हुँदै गएको देखिन्छ ।

मकैबाली जोगाउनका क्षति गरिरहेका जंगली जनावरहरुलाई बन्दुकले हानेर मार्न पनि नपाइने र अन्य वैकल्पिक उपायहरु पनि सरकारले नदिने भएपछि किसानहरु मकै खेतीमा विकर्षित हुँदै गएका छन् । स्थानीय जनता भन्छन्, मकै खेती गर्यो बाँदर, बँदेल, दुम्सी, भालुलगायतका जङ्गली जनावरको आहार मात्र ।

अर्कोतिर मकैजोन भनी घोषणा गरे पनि जंगली जनावरले गरेका नोक्सानीको कुनै पनि क्षतिपूर्ति किसानलाई दिइएको छैन । यसले गर्दां किसानले खेती गर्न छाडेका छन् र मकैजोन अब मकैबारीमा खुम्चन जाने संभावना बढेर गएको छ ।

प्रतिक्रिया दिनुहोस्