नेविसंघद्वारा वीरगञ्ज महागनरपालिकामा तालाबन्दी



वीरगञ्ज : नेपाली कांग्रेस निटक नेपाल विद्यार्थी संघ (नेविसंघ)ले वीरगञ्ज महानगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । नेविसंघ नगर कमिटी वीरगञ्जले महानगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् । उनीहरुले तीन घण्टा कार्यालयमा तालाबन्दी गरेका थिए ।

शुक्रबार बिहान १० बजे कार्यालयको मुख्यगेट र पछाडी गेटमा लगाइएको ताला प्रहरीको आग्रहपछि खुलेको हो ।

तालाबन्दीका कारण कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरु सास्ती खेप्नु परेको थियो भने
कार्यालय भित्र रहेका सेवाग्राहीहरु कार्यालय भित्र थुनिएपछि वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक निर्मल पनेरुको आग्रहमा ताला खुलेको नेविसंघले जनाएको छ ।

महानगरभित्र देखिएको सडक, नाला, सरसफाई, शिक्षा, स्वास्थको समस्या समाधान गर्न माग गर्दै नेविसंघले मेयर विजयकुमार सरावगी ज्ञापन पत्र बुझाउन खोजेका थिए । तर, सरावगीले ज्ञापन पत्र बुझ्न नमानेपछि आक्रोशित भएका विद्यार्थी नेताहरुले कार्यालयको मुल गेटमै तालाबन्दी गर्दै धर्नामा बसेका हुन् ।

नेविसंघका जिल्ला अध्यक्ष विकास तिवारीले स्थानिय सरकार सञ्चालन भएको २ वर्ष वित्तिसक्दा पनि वीरगञ्जको विकासमा ग्रहण लागेको बताए । उनले भने, वीरगञ्जको मुटु मानिने माईस्थान, गिता मन्दिर, मेनरोड, २ नम्बर रोड लगायत अधिकांश सडकहरुको अवस्था दैनिय छ, सरसफाईको अवस्थामा समेत मेयर सरावगीको ध्यान नजानु वीरगञ्जवासीको लागि दुर्भाग्यपूर्ण छ ।’

विरोध कार्यक्रममा नेविसंघका केन्द्रिय सदस्य राकेश यादव, संघका जिल्ला उपाध्यक्ष बाल्मीकी यादव, सचिवद्वय रोशन सिंह, समिर मंसुरी, ठाराब ईकाईका अध्यक्ष मनोज साह लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्