वनमन्त्री र सचिवबीच शित युद्ध



काठमाडौं : वनमन्त्री शक्तिबहादुर बस्नेत र वन सचिव डा. विश्वनाथ ओलीबीच समुधुर सम्बन्ध नरहेको मन्त्रालय परिसरमा लामो समयदेखि चर्चा चल्दै आएको छ । मन्त्री र सचिवबीच सुमधुर सम्बन्ध नहुँदा मन्त्रालयले प्रदान गर्ने सेवा र निति निर्माण गर्ने कार्यमा समेत प्रभाव परेको छ ।

आफ्नो रोजाइ बिना सचिव ओली आएपछि मन्त्री बस्नेत र सचिव ओलीबीच ‘ट्यूनीङ’ नमिलेको हो । मन्त्री बस्नेत र सचिव ओलीबीच जिल्ला वन अधिकारी ‘डिएफओ’सरुवामा पनि उनीहरुको बेमेल सतहमा आएको थियो ।

मन्त्रीले डिएफओ सरुवामा केन्द्रबाटै सिँधै जिल्ला तोक्ने पक्षमा थिए भने सचिवले प्रदेशमा पठाएर प्रदेशले जिल्ला तोक्ने गरी दिने पक्षमा थिए । अन्ततः मन्त्री बस्नेतको यो सन्दर्भमा जोर चलेन । यस सन्दर्भमा सचिवले भने अनुसारनै एकमुस्ट प्रदेशमा सरुवा गरी प्रदेशले नै जिल्ला तोक्ने गरी सरुवा गरियो । यसैगरी वन विभागको महानिर्देशक सरुवामा पनि मन्त्री र सचिवबीच लामै समय कुरा मिलेन ।

मन्त्री बस्नेतले कांग्रेसी रुझान राख्ने कृष्ण आचार्यलाई नै महानिर्देशक पदमा राखिरहने सोच बनाएका थिए । तर, बामपन्थी कर्मचारीहरुको दवाव र सचिव ओलीको अडानका कारण मन्त्री बस्नेत वामपन्थी पृष्ठभूमिका रामप्रसाद लम्साललाई महानिर्देशक बनाउनुपर्ने अवस्थामा पुगे ।

त्यस्तै राष्ट्रपति चुरे तराई–मधेश संक्षरण समिति, राष्ट्रय प्रकृतिक संरक्षण कोष र नेपाल वन निगमको प्रमुख पदमा नियुक्तका विषयमा पनि मन्त्री र सचिवबीच कुरा मिल्न सकिरहेको छैन । जसका कारणले ति संस्थाहरुमा लामो समयदेखि कार्यकारी पद तदर्थबाट चलेका छन् । पछिल्लो पटक खोटो संकलन र झ्याउ संकलन तथा निकासीका विषयमा पनि सचिव र मन्त्रीबीच कुरा नमिलेपछि शित युद्धनै चलेको छ ।

मन्त्रालय स्रोतका अनुसार मन्त्री बस्नेतका एक नातेदारले झ्याउ संकलन कार्य खुलाइदिन्छु भन्दै व्यापारीसँग रकम समेत लिइसकेको अवस्थामा सचिव भने यस झ्याउ संकलन कार्य खुलाउने विपक्षमा अडान लिएका छन् ।

मन्त्री बस्नेत भने झ्याउ संकलन कार्य केही समयका लागि खुलाउन प्रयासरत छन् । मन्त्रीको यो प्रयासमा सचिव बाधक बनेको भन्दै आफ्नो निकटवर्तिलाई बताउने गरेका छन् ।

मन्त्रालयको क्यान्टीनमा वनमन्त्री र सचिवबीचको सम्बन्धलाई लिएर एउटा चर्चा चल्ने गरेको छ । मन्त्री बस्नेतले सचिव ओलीसँग काम गर्न असहज भएपनि सरुवा गर्न भने सकेका छैनन् । मन्त्रीको चाहाना सचिवलाई सरुवा गर्ने भएतापनि सचिव ओली प्रधानमन्त्री ओलीका विश्वास पात्र भएका हुनाले सचिव हटाउने प्रसंग अगाडि बढाउन सकेका छैनन् ।

मन्त्री बस्नेतले आफूलाई सचिव ओलीले असहयोग गरेको भन्दै नेकपाका नेता तथा पूर्ववनमन्त्री अग्नी सापकोटालाई समेत गुनासो व्यक्त गरेका छन् । मन्त्री बस्नेतले सचिव ओलीमाथि आफूलाई सहयोग नगरेको, आफ्नो काममा साथ नदिएको, मन्त्रालयका कुरा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिँधा लगाउने गरेको र प्रधानमन्त्री ओलीले आफ्नो सुराकीका रुपमा सचिव ओलीलाई सरुवा गरेको बताउने गरेका छन् ।

उता सचिव ओलीले भने आफूलाई मन्त्रीले विश्वास नगरेको, सरकारले भ्रष्टाचार नियन्त्रणमा कडाइका साथ प्रस्तुत हुने भनिएपनि मन्त्री यो विषयमा लचिलो भएको, आफूसँग आन्तरिक सरसल्ला नगरेको, सुरुसुरुमा आफूलाई बाइपास गर्दै सहसचिव मार्फत काम लिन खोजेको र सचिवालय हावी भएको गुनासो व्यक्त गर्दै आएका छन् ।

मन्त्री र सचिवबीचको वेमेलको प्रसंगमा वन मन्त्रालयका प्रवक्ता सिन्धु ढुंगानाले द नेपालटपसँग कुरा गर्दै आफूले यस्तो महसुस नगरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्