बर्दियामा सत्ता–प्रतिपक्षबीच भिडन्त



काठमाडौं : बर्दियामा सत्तापक्ष र प्रतिपक्षबीच भिडन्त भएको छ । भिडन्तमा नेपाली कांग्रेस बाँके अध्यक्ष किरण कोइरालाको हात भाँचिएको छ । नेपाली काँग्रेस बाँकेले आफ्नो कार्यक्रमस्थलमा नेकपाले हस्तक्षेप गर्दा आफूहरुले प्रतिरोध गरेको बताएको छ । नाडीमाथिको हड्डी भाँचिएको कोइरालाको नेपालगञ्जमा उपचार गरिएको थियो ।

नेपाली कांग्रेस बाँकेले सीतापुरस्थित रेडक्रसको सभाकक्षमा सुरु गर्न थालेको कार्यक्रममा नेकपाका कार्यकर्ताको समूह मञ्चमै पुगेर आक्रमण गरेका थिए । घटनापछि नेपाली काँग्रेस बाँकेले विज्ञप्तिमा जारी गर्दै ‘यति ठूलो घटना हुँदा पनि सुरक्षा निकाय परिचालित नहुनु र गृह प्रशासन समेत संवेदनशील नहुनुलाई काँग्रेसले सुनियोजित एवम् अत्यन्त गम्भीर घटनाको रुपमा लिएको’ बताउँदै यस्ता गल्तीहरु नदोहर्याउन चेतावनी पनि दिएको छ ।

तर यस आरोपको खण्डन नेकपा बाँकेका अध्यक्ष आईपी खरेलले पार्टी युवा समर्थकको व्यक्तिगत विवाद घटना हुन पुगेको बताउँदै काँग्रेसको कार्यक्रम बिथोल्ने आफूहरुको नियत नभएको बताएका छन् । खरेलले काँग्रेसका कुनै पनि नेता तथा कार्यकर्तासँग आफूहरुको पूर्वाग्रह नभएको र एक्कासी यस्तो दुःखद् घटना निम्तन पुगेको भनी दुःख व्यक्त गरेका छन् ।

आक्रमण गर्ने नेकपाका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । आक्रमणको घटनामा संलग्न अन्य तीन जनालाई प्रहरीले खोजिरहेको बाँकेको धनौनी इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पोषण थपलियाले बताए ।

प्रतिक्रिया दिनुहोस्