निर्मल निवासतिर सोझिदै पर्यटनमन्त्रीको फायर



काठमाडौ : संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले थला परेको नेपाल वायु सेवा निगमलाई सुधार गरेर राष्ट्रको शानका रुपमा स्थापित गर्ने बताउदै राजा महाराजाहरुले चढेको जहाजको रकम असुली गरी छाड्ने दाबी गरेका छन् ।

मन्त्री भट्टराई भन्छन्– राजा महाराजाहरुले चढेको जहाजको पैसा नतिरेर निगम डुबिरहेको छ । त्यो रकम असुलउपर गरी छाड्छौ । त्यसका लागि उठाउने मेरो कर्तव्य हो ।

उनले उक्त बक्यौता रकम सरकारले तिर्ने कि पूर्वराजाको जायजेथाबाट उठाउने भन्ने विषयमा जहाँबाट भए पनि आफूले असुलउपर गरी छाड्ने बताए ।

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रयोग गरेको जहाजको भाडाबापत झण्डै पाँच करोड रुपैयाँ बक्यौता छ । पूर्वराजा शाहले विभिन्न समयमा विमान चार्टर गरेबापतको वक्यौता रकम अझैसम्म तिरेका छैनन् । शाहले ४ करोड ९० लाख रुपैयाँ तिर्न बाँकी रहेको निगमले बताएको छ । जुन रकम पूर्वराजा शाहकै नाममा बक्यौता राखिएको छ ।

उक्त बक्यौता रकम शाह राजा हुँदाका बेलाकै हो । उक्त वक्यौता रकम असुल गर्ने भन्नेमा निगम अन्योलमा रहँदै आएको छ । ३६ अर्बभन्दा माथिको ऋणभार बोकेको निगमलाई वक्यौता रकम पनि टाउको दुखाईको विषय बनेको छ ।

वक्यौता रकम किन उठेन र किन उठाउन सकिनए भन्ने विषयमा निगमका सहप्रवक्ता सुलेश्वर मिश्रले बताउन चाहेनन् । रकम असुली गर्न नसकेको निगमले कूल वक्यौता रकम कति छ भनेर चाँही खुलाउन चाहेन ।

प्रतिक्रिया दिनुहोस्