किन बढ्छ पुरुषको स्तन ?



स्त्रीरोग विषेशज्ञ डा. गणेश दगाल
काठमाडौं : बच्चादेखि जवान अवस्थामा जाँदै गर्दा वृद्धि विकासको क्रममा हुने प्रक्रिया, जसलाई हामी फिजियोलोजिकल भन्छौँ, जुन सामान्य हो । तर कहिलेकाही यो प्याथोलोजिकल अर्थात् रोगको रुपमा पनि पाइन्छ ।

गाइनोकोमास्टिया हर्मोनको कारणले पुरुषको स्तन वृद्धि हुने एउटा रोग हो । जब पुरुषमा टेस्टटोरन हार्मोनको मात्रा अत्यधिक र स्त्रीमा हुने स्ट्रोजन हार्मोनको मात्रा कम हुन्छ, एक आपसमा दुई वटा हार्मोनको सन्तुलन भइरहँदा टेस्टटोरनको प्रभुत्व बढी हुँदा समस्या हुँदैन । तर केही गरी टेस्टोरनको कमी भएमा या स्ट्रोजन बढेमा स्तनको आकारमा वृद्धि हुन्छ । यो प्रक्रिया युवा अवस्थामा भएमा यो सामान्य मानिन्छ । तर युवा अवस्थापछि पनि रह्यो भने त्यो असामान्य मानिन्छ ।

स्तनको आकार वृद्धि हुनुको कारण पहिचानपछि नै स्तन किन बढेको हो भन्ने बुझिन्छ । स्तन बढ्नुमा समान्यतया दुई कारण हुन्छन् । यदि किशोर अवस्थाबाट जवान अवस्थामा आउँदै गर्दा शरीरका अन्य अंग जस्तै स्तनमा पनि वृद्धि विकास सामान्य मानिन्छ । तर स्तनमा आएको वृद्धि ६ महिनादेखि १ वर्ष भित्रमा सामान्य रुपमा हराएर जान्छ । यदि स्तनको साइज ४ देखि ६ सेन्टिमिटर छ भने त्यसलाई असामान्य मानिन्छ । सो भन्दा कम छ भने सामान्य मानिन्छ ।

सामान्यतया पुरुषको स्तनको निप्पल र एरिगोलामा अलिकति रङमा परिवर्तन भएको हुन्छ, जसमा छाला र बोसो हुन्छ । त्यो बाहेक तुलनात्मक रुपले पुरुषमा स्तनको ग्रन्थी विकसित हुँदैन ।

यसरी हुने परिवर्तनलाई पिजियोलोजिकल भनिन्छ । तर कहिलेकाही प्याथोलोजिकल कारणका बाबजुद पनि यो समस्या देखिन्छ । प्याथोलोजिकल समस्या जस्तैः कहिलेकाही थाइरोड हार्मोनको असन्तुलनको कारण पनि पुरुषमा स्तन वृद्धिको समस्या देखा पर्छ । पिटिउटरी ग्रन्थीमा समस्या हुँदा, पुरुषको अन्डकोषमा ट्युमरहरु भएमा र टेस्टटोरनको उत्पादनमा कमी भएमा पनि स्तनको आकारमा वृद्धि हुन्छ ।

बढी मात्रामा अल्कोहल सेवन गर्नेहरुमा पनि पनि गाइनोकोमास्टिया देखिन सक्छ । त्यस्तै कहिलेकाही सामान्य रुपमा हामीले चलाउँदै आएको ग्यास्ट्रिकको औषधी, रक्तचापको औषधि, मुटु सम्बन्धीका औषधिहरु, मानसिक समस्या हुँदा चलाइने कतिपय औषधिले पनि गाइनोकोमास्टिया हुने सम्भावना प्रवल देखिन्छ ।

त्यो समस्या किन देखिएको हो भनेर पहिचानपछि मात्रै उपाचार सम्भव छ। कहिलेकाही कारण पत्ता लगाएर औषधी खुवाएर हुने या शल्यक्रिया गरेर हुने त्यो चेकजाँचपछि मात्र थाहा हुन्छ । कहिलेकाही लामो समयदेखि औषधी सेवन गर्नेहरुमा पनि यो समस्या देखिन्छ ।

पुरुषमा स्सट्रोजोन हर्मोन बढी हुने अवस्था भनेको जन्मिने बित्तिकै आमाको सालनालबाट बच्चामा सर्ने हुन्छ । यदि छोरा बच्चा जन्मिएको छ भने कहिलेकाही स्सट्रोजन हर्मोनको अलि बढी प्रभाव छोरामा पनि पर्ने हुन्छ ।

रोकथाम
कहिलेकाही थाइराइड हार्मोनको असन्तुलन, पिटिउटरी ग्रन्थीमा समस्या हुँदा, पुरुषको अन्डकोषमा ट्युमरहरु भएमा र टेस्टटोरनको उत्पादनमा कमी हुँदा देखिने यो समस्या देखिन्छ ।
तसर्थ नियमित रुपमा स्वास्थ्य जाँच गर्ने बानी बसाल्नुपर्छ ।

विषेश गरेर लामो समयसम्म औषधी सेवन गर्ने दीर्घरोगीहरु आफ्नो स्वास्थ्यप्रति बढी नै सजग रहनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्