संसदभित्र नेकपा, बाहिर स्वतन्त्र !



काठमाडौं : सांसद हृदयेश त्रिपाठी र वृजेश गुप्ता संसदभित्र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र संसद बाहिर स्वतन्त्र नेताका रूपमा प्रतिनिधित्व गरिरहेका छन् । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल परित्याग गरी त्रिपाठी र गुप्ताले निर्वाचनताका स्वतन्त्र राजनीतिक समूह बनाई तत्कालिन एमालेको सूर्य चिह्नबाट निर्वाचन लडेका थिए ।

नवलपरासी पश्चिम–१ बाट त्रिपाठी र कपिलवस्तु–२ बाट गुप्ता निर्वाचित भएका हुन् । तर, उनीहरू नेपाल कम्युनिस्ट पार्टीका सदस्य भने होइनन् । राजपा नेपाल परित्याग गरी स्वतन्त्र राजनीतिक समूह बनाएर एमालेसँग तीनबुँदे सहमति गर्दै उनीहरू वाम गठबन्धनको साझा उम्मेदवार बनेका थिए ।

सांसद त्रिपाठीले वाम गठबन्धनसँग तालमेल गरेर निर्वाचन लडेकाले संयुक्त घोषणापत्रअनुसार नै काम गरिरहेको बताए । तर, नेकपाको सदस्य नभएकाले पार्टीको निर्णय मान्नैपर्ने आवश्यक नरहेको उनले बताए ।

जनतासँग मत माग्न जाँदा संयुक्त वाम गठबन्धनको घोषणापत्र लिएर मत मागेकाले सोहीअनुसार संसदमा भूमिका निर्वाह गरिरहेको उनले बताए । तर, नेकपाको सदस्य आफूहरू नभएकाले पार्टीको निर्णय मान्न आवश्यक नभएको बताए ।

‘हामीले सहमति गरेरै सूर्य चिह्नबाट निर्वाचित भएको हो । यसमा राजनीतिक र वैधानिक दुई पक्ष रहेको छ,’ त्रिपाठीले भने, ‘जनताबाट अनुमोदित संयुक्त वाम गठबन्धनको घोषणापत्र हामी सबैको भएकाले सोहीअनुसार नै अघि बढ्नुपर्छ, यसमा हामी सबै प्रतिबद्ध छौं ।’

घोषणापत्र हामी सबै उम्मेदवारको साझा भएकाले त्यसमा कोही कसैले नमान्ने भन्ने प्रश्न आउँदैन । नेकपाको सरकार भएकाले काम पनि सोही घोषणापत्रअनुरूप गर्नुपर्ने बताउँदै उनले घोषणापत्रविपरीत एवं नराम्रा कामविरुद्ध आवाज उठाइने बताए ।

नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले त्रिपाठी र गुप्ताले पार्टी प्रवेश नगरेको बताए । तर, संसद्भित्र सहमतिकै आधारमा अगाडि बढिरहेको उनले बताए । अहिलेसम्म कुनै विवाद नभएको उनको भनाइ छ ।

‘सहमतिकै आधारमा उहाँहरू सूर्य चिह्नबाट चुनाव लडेर निर्वाचित हुनुभएको छ । अहिलेसम्म संसदमा सहमतिकै आधारमा अगाडि बढिरहेका छौं,’ नेम्वाङले भने, ‘उहाँहरू स्वतन्त्र राजनीतिक समूहका तर्फबाट सहमति गरेर संयुक्त वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेको तर पार्टीमै प्रवेश नगरेकाले पार्टीको निर्णय मान्न बाध्यता छैन ।’

संसदभित्रको सार्वजनिक लेखा समितिमा त्रिपाठी सदस्य छन् । गुप्ता राज्य व्यवस्था तथा सुशासन समितिको सदस्य छन् । तर दुवैको सिफारिस नेकपाले गरेको हो ।

नेकपाले स्वतन्त्र राजनीतिक समूहका नेतालाई विधिवत रूपमा पार्टीमै प्रवेश गराउने तयारी पनि गरिरहेको छ । पार्टीको सचिवालय बैठकमा त्रिपाठी र गुप्तासहितका नेतालाई पार्टी प्रवेश गराउने विषयमा यस अघिका बैठकमा छलफलसमेत भएको थियो ।

सांसद गुप्ताले कानुनी रूपमा संसदमा नेकपाको ‘ह्विप’ मान्नुपर्ने बाध्यता रहेको बताए । तर, संसदमा विशेष परिस्थितिमा ह्विप मान्नुपर्ने भए पनि बाहिर नेकपाको निर्णय मान्न आवश्यक नभएको बताए । नेकपाको सदस्यता नलिई आफूहरू अहिले पनि स्वतन्त्र राजनीतिक समूहमा आबद्ध भएको उनले बताए ।

‘हाम्रो बीच सम्झौता भएको छ । हामी हाम्रै ऐजेन्डामा काम गर्छौं,’ गुप्ताले भने, ‘दुवैको आपसी सहमतिमै संसदमा प्रस्तुत हुने हो । हामीले उहाँहरूको र उहाँहरूले हाम्रो अस्तित्व स्विकार्नैपर्छ ।’

प्रतिनिधिसभाको निर्वाचनमा तत्कालिन एमाले, माओवादी केन्द्र र स्वतन्त्र राजनीतिक समूहलगायतले वाम गठबन्धनका तर्फबाट निर्वाचन लडेका थिए । अहिले एमाले र माओवादीबीच एकीकरण भई नेकपा भएको छ ।

प्रतिक्रिया दिनुहोस्