राजपामा महाधिवेशन स्थगित हुने भएपछि नयाँ लफडा



काठमाडौं : पार्टी एकता गठन भएदेखिनै विवादै विवादमा साढे दुई वर्ष विताएको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संयोजकमा पुनः महन्थ ठाकुर आएका छन् । पार्टी एकता भएदेखिनै महाधिवेशनलाई प्राथमिकता दिँदै आएको राजपाले आगामी कात्तिकका लागि महाधिवेशको तिथि तोकेपनि आवश्यक तयारी नपुग्दा स्थगित गर्ने ठाउँमा पुगेको छ ।

राजपाका एक नेताका अनुसार सदस्यता, जिल्ला अधिवेशन र महाधिवेशन सम्बन्धी अन्य तयारी नपुग्दा दोस्रो पटक तय गरिएको महाधिवेशनको मिति स्थगित हुने बताए । ती नेताले यस विषयले अध्यक्ष मण्डलमा प्रवेश पाएको दाबी गरेका छन् । महाधिवेशन समयमै गर्ने कि स्थगित गर्ने भन्ने विषयले अनौपचारिक रुपमा अध्यक्ष मण्डलमा प्रवेश पाएपनि औपचारिक छलफल भने हुन सकेको छैन । अब छिट्टै अध्यक्ष मण्डलको बैठक बसेर महाधिवेश स्थगित गर्ने विषयमा निर्णय लिने ती नेताले जानकारी दिए । यद्यपी यो विषयले पार्टी भित्र विवादको रुप पनि लिएको छ ।

महाधिवेशन लगायत पार्टी काम तीव्रताका साथ अघि नबढ्नुमा चक्रिय प्रणालीलाई दोष दिन थालिएको छ । दुई–दुई महिनामा अध्यक्ष मण्डलको संयोजक परिवर्तन हुने पद्धतिले पार्टी काममा अवरोध सृजना गरेको कतिपय नेताको बुझाइ छ । अध्यक्ष मण्डलका एक सदस्यका अनुसार पार्टीलाई गतिसिल र महाधिवेशन गर्न अब संयोजक ठाकुरलाई स्थायि रुपमा राखिरहनु पर्ने आवाज बलियो सँगले पार्टी भित्र उठिरहेको छ । साढे दुई वर्ष वर्षमा ६ संयोजक परिवर्तन भएको राजपाले महाधिवेशनको लागि एक पाइला चाल्न सकेन ।

प्रत्येक २ महिनामा चक्रिय प्रणाली अनुसार पार्टी अध्यक्ष मण्डलको संयोजक हुने व्यवस्था अनुसार हालसम्म अध्यक्ष मण्डलका सबै सदस्य संयोजक भइसकेका छन् । अध्यक्ष मण्डलको संयोजकको रुपमा आठ महिनासम्म नेतृत्व सम्हालिसकेका ठाकुर असोज ६ गते सोमबारबाट फेरि राजपाको सर्वोच्च पद संयोजक हुन पुगेका छन् ।

राजेन्द्र महतो, महेन्द्र यादव, शरदसिंह भण्डारी, अनिल झा, राजकिशोर यादव पार्टीका संयोजक भए पनि महाधिवेशन सम्बन्धी कुनै ठोस कदम चाल्न सकेनन्, न त पार्टी कामलाई नै अगाडि बढाउन सके ।

पहिलो पटक महाधिवेशन गत वैशाख ७ देखि ९ गतेसम्म गर्ने तयारी गरेको राजपाले तोकिएको समयमा महाधिवेशन गर्न नसकेपछि पुनः कात्तिक २८, २९ र ३० गते समय तोकेको थियो । तर, यसपटक पनि महाधिवेशन हुने सम्भावना क्षिण हुँदै गएको छ ।

महाधिवेशन गर्ने विषयमा राजपाभित्र आन्तरिक किचलो छ । जुन किचलो समाजवादी पार्टीसँग एकता गर्ने विषयसँग जोडिएको छ । राजपाको एउटा पक्ष पार्टीको महाधिवेशन अगाडि नै समाजवादी पार्टीसँग एकीकरण गर्नुपर्छ भन्ने पक्षमा सक्रिय भएर लागेको छ भने अर्को पक्ष भने महाधिवेशनपछि आवश्यकता अनुसार एकता गर्ने पक्षमा छ । यसै कारणले अहिले राजपा भित्र तीव्र विवाद चलिरहेको छ ।

राजपा अध्यक्ष मण्डलका ६ नेताहरुबीच सतहमा राम्रै भएको देखाएपनि भित्रभित्र भने ६ तिर फर्किएको अवस्था विद्यमान छ । त्यसोत यो महाधिवेशन र एकताका विषयमा दुई पक्ष देखिएको छ । तत्काल समाजवादीसँग एकता गरिहाल्नुपर्छ भन्नेमा राजेन्द्र महतो, महेन्द्र राय र शरदसिंह भण्डारी देखिएका छन् भने महाधिवेशन गरेपछि मात्रै एकता सम्बन्धी काम अगाडि बढाउनु पर्छ भन्ने महन्थ ठाकुर, अनिल कुमार झा र राजकिशोर यादव रहेका छन् ।

यद्यपी राजपा भित्र पेचिलो बन्दै गएको महाधिवेशन र एकता सम्बन्धी मुद्दामा बाह्य हस्तक्षेप भएको बताउने नेताहरु पनि छन् ।

भारतीय विदेश मन्त्री एस जयशंकर केही समय अघि नेपाल भ्रमणका बेलादेखि राजपामाथि पार्टी एकताका लागि दवाव बढेको चर्चा व्यापक छ । त्यसबेला विदेश मन्त्री जयशंकरसँग राजपाका नेताहरुले भेट अघि र भेटेपछि भारतीय राजदूत मञ्जीव पूरीसँग भएको कुराकानीले त्यतिबेला राम्रै चर्चा पाएको थियो ।

तत्कालिन तराई मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, राष्ट्रिय मधेश समाजवादी पार्टी, तराई मधेश सद्भावना पार्टी, मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) र नेपाल सद्भावना पार्टीबीच ७ वैशाख २०७४ मा एकीकृत भइ राजापा गठन भएको थियो ।

पार्टी एकीकरण भएको एक वर्षभित्र महाधिवेशन गर्ने घोषणा गरेको राजपाले मिति तोक्दै स्थगित गर्दै आएको छ ।

जिल्लामा पठाएको सदस्यता फारमको सबै विवरण केन्द्रमा आइनसक्दा पनि महाधिवेशन हुनमा समस्या देखिएको छ । केही जिल्लाबाट सदस्यको विवरण आए पनि सबै जिल्लाले सदस्यताको सम्पूर्ण विवारण पठाई सकेका छैनन् ।

महाधिवेशन हुन करिब ५० दिन बाँकी हुँदा सदस्यता विवरणको अन्तिम सूची प्रकाशित हुन नसक्दा स्थानीय तह, वडा, प्रदेश निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश समिति कुनैको पनि अधिवेशन हुन सकेको छैन ।

महाधिवेशन र समाजवादी पार्टीसँगको एकताका विषयमा बुझ्न खोज्दा अध्यक्ष मण्डलका सदस्य अनिल कुमार झाले आफू बैठकमा भएको भन्दै फोनै काटेका थिए । त्यस्तै राजपा महासचिव केशव झाले पनि आफू बैठकमा भएको बताए ।

प्रतिक्रिया दिनुहोस्