कृषि विकास बैंकबाट झण्डै ५ करोड चोरी भएको खुलासा, ११ जना पक्राउ



काठमाडौं : शुरुमा डेढ करोड रकम चोरी भएको भनिएता पनि कृषि विकास बैंक लहान शाखाबाट चार करोड ७३ लाख रुपैया चोरी भएको छ । बैंकका उपप्रबन्धक दीर्घ अर्यालका अनुसार शाखाको व्याज आम्दानीमा रहेको उक्त रकम चोरी भएको हो ।

चोरी घटनापछि बैंकले छानविन समिति बनाउदै आन्तरिक छनविन शुरु गरेको छ भने प्रहरीले चोरीमा संलग्न रहेको आरोपमा ११ जनालाई पक्राउ गरेको छ । घटनाका बेला शाखा प्रबन्धक रहेका रामसेवक यादवको युजरनेम र पासवर्ड प्रयोग गरी त्यही सिस्टमबाट रकम चोरी भएको हो ।
राजधानी सहित अन्य विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखा महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिएका छन् ।

पक्राउ पर्नेमा नुवाकोटको मेघाङ गाउँपालिका ४ का लवङ तामाङ, लमजुङ दोदी गाउँपालिकाका विद्यासागर लामिछाने, सर्लाहीका पुष्पराज खड्का, काठमाडौं ताकेश्वरका सञ्जय घले, तारकेश्वरकै लक्ष्मी लामा तामाङ, निर्मला तामाङ, निमा तामाङ, लक्ष्मी श्रेष्ठ र श्रवण कुमार श्रेष्ठ रहेका छन् । यसैगरी कैलालीको भजनीका विजय कुमार शाह र भारत कलकताका शुभन्कर पन्जापनि पक्राउ परेका छन् ।

उनीहरुको साथबाट बैंकबाट चोरी गरेको करिव ६० लाख रुपैयाँ बरामद भएको प्रहरीको भनाइ छ । सोमबार र मङ्गलबार बैङ्कबाट अस्वभाविकरुपमा ट्रान्जेक्सन भएको पाइएपछि बैङ्कले तत्कालै प्रहरीलाई खबर गरेको थियो । त्यसलगत्तै खटेको प्रहरीले पैसा निकाल्दै गर्दा दुई जनालाई नियन्त्रणमा लिएको थियो भने उनीहरुले दिएको बयानको आधारमा अन्यलाई पनि नियन्त्रणमा लिइएको थियो ।

कृषि विकास बैङ्क श्रोतका अनुसार बैङ्कको लहान शाखाबाट विभिन्न ७ जना व्यक्तिको नाममा रकम ट्रान्सफर गरिएको थियो । ७ जना व्यक्तिका नाममा करिब ४ करोड रुपैयाँ ट्रान्सफर गरिएको हो । जसमध्ये डेढ करोडभन्दा बढी रुपैयाँ उनीहरुले निकालिसकेका थिए भने बाँकी रकम निकाल्ने क्रममा उनीहरु पक्राउ परेका हुन् ।

कृषि विकास बैङ्क लाहान शाखाका म्यानेजरको युजर नेम र पासवर्ड प्रयोग गरी त्यही कम्प्युटर वा अन्य कुनै कम्प्युटरबाट करिब ४ करोड रकम ट्रान्सफर गरिएको छ । सो रकम विभिन्न ७ जना व्यक्तिका नाममा ट्रान्सफर गरिएको थियो, जसमध्ये २ जना व्यक्ति रकम निकाल्दै गर्दा पक्राउ परेका थिए ।

कृषि विकास बैङ्कको बैङ्किङ सिस्टम ह्याक भएको नभई मिलेमतोमा रकम चोरी भएको आशंका गरिएको छ । बैङ्कको कोर बैंकिङ सिस्टम प्रयोग गरी त्यहाँ रहेको नाफा रकम विभिन्न व्यक्तिको खातामा ट्रान्सफर गरिएको हो । बैङ्क कर्मचारीकै मिलेमतोमा उक्त रकम ट्रान्सफर भएको हुनसक्ने प्रबल सम्भावना रहेको प्रहरीले बताएको छ । सफ्टवेयर वा सिस्टम ह्याक भएको नभई कर्मचारीकै युजरनेम र पासवर्ड प्रयोग गरी रकम ट्रान्सफर गरिएकाले यो ह्याक नभई चोरी भएको बैङ्कले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्