दशैँमा खसीबोका अभाव हुँदैन : सरकार, भइहाले तत्काल उपलब्ध गराउन सक्दैँनौं : व्यवसायी



काठमाडौं : दशैँको चहलपहल बढेसंगै उपत्यकामा देशका विभिन्न नाकाबाट खसीबोका तथा भेडा च्याङ्ग्रा भित्रिन थालेका छन् । वर्षेनी उपत्यकामा ठुलो संख्यामा खसीबोका भित्रिने गरेका छन् । हिमाली तथा तराइ क्षेत्रसँगै भारत, चीनबाट भेडा तथा च्याङ्ग्रा ल्याउने गरिन्छ ।

सरकारले गत बैशाख १६ गतेबाट भारतबाट खसी ल्याउने प्रक्रियामा केही कडाइ गरेको छ । यो व्यवस्थासँगै सम्बन्धित मुलुकबाट पशुचौपाया स्वस्थ भएको प्रमाणित कागजपत्र बनाउनुपर्छ । कागजपत्रमा निर्यात योग्य, रोगमुक्त र रोगको खोप लगाएको प्रमाणित हुनुपर्छ । यो व्यवस्थालाई कडाइ गरेसँगै भारतबाट खसीबोका आयात कम भएको छ । भारतबाट कम आयात भएसंगै उपत्यकाभित्र मासुको अभाव हुन्छ भन्ने चिन्ता बढेको छ ।

तर पशु विभागले उपत्यकाभित्र मासुको अभाव नहुने बताएको छ ।
बुधबार मात्र १५० ओटा खसी कृष्ण नगर नाकाबाट नेपाल भित्रिएको पशु क्वारेन्टाइन महाशाखाका उपमहानिर्देशक डा.मोदनाथ गौतमले बताए ।

उनी भन्छन्, यो पटक च्याङ्ग्रा आइसकेको छैन । बाटोका कारण तातोपानी नाका १० दिनका लागि बन्द भएको छ । बाटो खुलेसंगै च्याङ्ग्रा भित्रन थाल्छ । मनाङ, मुस्ताङबाट पनि ल्याउने क्रममा छौँ, केही दिनभित्रै उपत्यका आइपुग्छन् । भारतबाट कम आउदैँमा अभाव हुदैँन ।’

यता काठमाडौं चौपाया खरिद प्रालीका अध्यक्ष जनककुमार खड्काका अनुसार यदि खसीबोका अभाव भैहाले (वैकल्पिक उपाय) तत्काल उपलब्ध गराउन सकिदैन ।

पहिलाका वर्षहरुमा हामीले तल्काल उपलब्ध गराउन सक्थ्यौं, तर यो वर्षदेखि हामीले उपलब्ध गराउन सक्दैनौं । उनी भन्छन्, आजको भोलि आपूर्ति गर्न सकिने अवस्था छैन । भारतबाट ल्याउन रोक लगाइएको छ, नेपाली कृषहरुले अझै व्यावसायिक रुपमा बाख्रापालन गरेको देखिदैन । यसमा गाउँमा कतैकतै बाख्रापालन र भएका खसीबोका संकलनमा भौगोलिक कठिनाइले झनै समस्या थपेको छ । भारतबाट ल्याउँदा क्वारेन्टाइनका लागि दिल्ली पुग्नु पर्छ ।

नेपालका गाउँघरमा संकलन गरिएका सखीबोका बसमा ल्याउन पाइँदैन, ट्रक पठाउँदा लागत धेरै लाग्छ । यसले गर्दा व्यापारीहरु मारमा परेका छन् । त्यसमाथि खरिदबिक्रिमा मूल्य समान छैन । यसका लागि सरकारले कुनै पनि सहयोग र सहुलियत दिंदैन ।

पशु क्वारेन्टाइनका कुरा जति गरे पनि सरकारले गर्ने भनेको दसैंजस्तो ठूलो चाडको समयमा १०० मा ४० प्रतिशत हो, बाँकी ६० प्रतिशत त्यत्तिकै उपत्यकामा भित्रिने गरेका छन् । प्रालीका अध्यक्ष खड्का भन्छन्– उपभोक्तालाई यदि स्वास्थकर मासु खुवाउने हो भने अनुगमन तीब्र पार्र्नु पर्छ र जाँचमा पनि कडाई गर्नुपर्छ, त्यसका लागि हामी सधैं तयार छौं ।

क्वारेन्टाइन र चेकजाँच दसैंको बेलामा देखाउनका लागि मात्र होइन, सधैभरि गरिइरहनु पर्छ । किनकि, काठमाडौं लगायतका सहरहरुमा खसीबोका, भेडाच्याङ्ग्रा, राँगा लगायतका चौपायाको मासु बाह«ै महिना उत्तिकै चलिरहेको हुन्छ ।

तर सरकारको तर्फबाट दसैंका बखत केही दिन देखाउनका लागि मात्र क्वारेन्टाइन र चेकजाँच गरिन्छ । उपत्यका छिर्ने प्रमुख नाकामा पशु चिकित्सकसहितको टोली केही दिन गएर अनुगमन गर्छ । यसलाई नियमितता दिनु जरुरी छ ।

हाल देशमा पशु क्वारेन्टाइन जाँच पास गर्ने निकाय सिन्धुपाल्चोकको तातोपानी, रसुवाको टिमुरे, चितवनको रामनगर, काठमाडौँको त्रिभुवन अन्तर्र्रािष्ट्रय विमानस्थल, नागढुङ्गा, शाखु, फर्पिङ, सामाखुशी, टोखालगायतका स्थानमा छन् ।

कतिपय सम्पर्क र सम्बन्धका हिसाबले त कतिपय नियतैले पनि अनुगमन छलेर लुकाईछिपाई उपत्यकामा खसीबोका भित्र्याउने चलन कायमै छ । तर चेकजाँच गरिएका चौपायामा स्वस्थ र उपभोग गर्न योग्य चौपायाको सिङमा हरियो रंग तथा विरामी र उपभोग गर्न नमिल्ने चौपायामा रातो रंग लगाउने गरिएको छ ।

सोह्र श्राद्धका कारण बिक्रिमा कमी

दसैंका लागि खासीबोका भित्रिने क्रम बढे पनि सोह्रश्राद्धका कारण भनेजति बिक्रि भएका छैनन् । दसैंमा पनि विशेषतः घटस्थापनादेखि रामनवमीसम्म अत्यधिक मात्रामा खसीबोका बिक्री हुने गर्छ । पशुसेवा विभागका अनुसार दसैंमा ४० हजार खसीबोका बिक्रि हुने गर्छ । तर यस वर्ष जम्मा २५ हजारको हाराहारीमा खसीबोका काठमाडौं भित्रिने अनुमान गरिएको छ । सोह« श्राद्धकै अवधिमा प्रतिकेजी रु.५५० देखि रु.५९० सम्म रहेको मूल्य श्राद्धपछि नयाँ मूल्य समायोजन समायोजन गरिने छ ।

प्रतिक्रिया दिनुहोस्