बाबा, सुद्धि हराएको देशमा ‘गुरु’ बन्ने अपराध नगर्नुस्



माग सम्बोधन नहुँदा विद्रोह हुन्छ । मागको प्रकृति, आवश्यकता र अनिवार्यताले विद्रोहको शैली निर्धारण हुन्छ । यसको आयतन भने मागप्रतिको समर्थनले तय गर्छ । नेपालमा मूलतः राजनीतिक मागका लागि खास समयको अन्तरमा विद्रोह र आन्दोलनहरू भएका छन् । ती मागप्रति जनमत बढ्दै जाँदा विद्रोहले विकराल रूप पनि लिएका छन् । विभिन्न कालखण्डमा देशमा सशस्त्र विद्रोह पनि भएका छन् ।

 

शान्तिपूर्ण र अहिंसात्मक आन्दोलनको इतिहास र वर्तमान पनि विद्यमान छ । तर शान्तिपूर्वक भेला भएर आवाज बुलन्द पार्ने खालका विद्रोहले नै कालान्तरमा परिवर्तनको बाटो बनाएका छन् । सशस्त्र वा बर्बरतापूर्ण विद्रोहले शासनसत्तालाई क्षणिक डामाडोल पारे पनि ती परिवर्तनको कारण भने कहिल्यै हुन सकेनन् ।

नेपालमा विद्यार्थी आन्दोलनको लामो र गौरवपूर्ण इतिहास छ । आन्दोलनका योद्धाहरुले अझै पनि नेपाली राजनीतिक वृत्तमा चम्किलो उपस्थिति देखाइरहेका छन् । निरंकुश पञ्चायती सत्ताविरुद्ध २०३६ सालमा भएको विद्यार्थी आन्दोलनले प्रतिबन्धित कांग्रेस र अन्य दललाई जनमत संग्रहका नाममा आफ्ना अजेन्डा स्थापित गर्न जनतामाझ जान दिएको इतिहास छ । त्यसबाट निर्मित वातावरणमै टेकेर २०४६ सालमा सक्रिय राजतन्त्र अन्त्य भएको थियो । २०४६ सालमा प्रजातन्त्र एवं बहुदलीय व्यवस्था पुनस्र्थापनाका लागि भएको आन्दोलन र २०६२-६३ मा भएको शाहीसत्ताविरुद्धको जनआन्दोलन २ सफल हुनुमा विद्यार्थीको योगदान पनि गतिलो कारण रहेको छ ।

 

विद्यार्थी शिष्ट, संयमित र संस्कारी हुन्छन् । एउटा व्यक्तिको विद्यार्थीकालीन उमेरले नै भविष्यमा के हुने हो भन्ने कुरा निश्चित गर्छ । त्यसैले अभिभावकमा आफ्ना बच्चाप्रति सबैभन्दा बढी संवेदनशीलता र सतर्कता यसै उमेरमा देखिने गर्छ । उमेरजन्य दोष हावी हुन नसकोस् भन्ने अभिप्रायले अभिभावकमा एउटा गहिरो चिन्ता हुन्छ । तर चित्त र शरीरको सबैभन्दा सक्रिय दशामा रहेका विद्यार्थी यति बेलै सबैभन्दा बढी जोसिला हुन्छन् ।

 

उचित र अनुचित वा सही र गलतको मापदण्डलाई लिएर प्रस्ट नभएको यो बेलामा नै उत्तेजना र आवेगमा आएर बढी काम गर्छन् । उनीहरु परिवर्तनको आकांक्षालाई सम्बोधन गराउने सर्वाधिक निकृष्ट तरिका पछ्याउनबाट पनि पछि हट्दैनन् । विवेक र सुद्धि हराएको यो युगमा सामान्य निहुँ झिकेर गुरुमाथि कालो मोसो दल्न पुग्छन् । जनकपुरको राराब क्याम्पसमा आज क्याम्पस प्रमुखमाथि कालो मोसो दलिएको छ । 

 

विद्रोहका विभिन्न चरण पार गर्दै नेपाली राजनीतिमा स्थापित बनेको राजपाको विद्यार्थी संगठनका विद्यार्थीले कालो मोसो दलेको समाचार छ । नियमित पठनपाठनलगायत विद्यार्थीका केही बुँदे माग पूरा नभएकाले कालो मोसो दलिएको बयान बडो निर्धक्क भएर राजपा समर्थित विद्यार्थी नेताले दिएका छन् । कलेजमा पठनपाठन अवरुद्ध हुनु असामान्य अवस्था हो । कलेज प्रशासनले यसतर्फ गम्भीरतापूर्वक ध्यान दिनैपर्छ र तपसिलका कारणमा नअल्झेर पठनपाठन सुचारु गराउनेतर्फ अघि बढ्नुपर्छ ।

 

कम्तीमा कुनै पनि सरकारी सार्वजनिक शिक्षालयमा कलेज प्रशासककै चासोमा अध्ययन अध्यापन नहुने स्थिति बिरलै उत्पन्न हुन्छ । राराब क्याम्पसमा यो बिरल स्थिति आएको मान्न सकिने आधार छैन । क्याम्पस प्रमुखले गल्ती गरे भने आन्दोलनमा उत्रिएका विद्यार्थीसँग माग सम्बोधन गराउने धेरैवटा विकल्प हुन सक्थे । विश्वविद्यालय प्रशासनलाई ध्यानाकृष्ट गर्ने र उपकुलपतिसम्म पुगेर दबाब दिन पनि सकिन्थ्यो ।

 

हरेक विद्यार्थी संगठनको उपल्लो निकाय हुन्छ । राजपा समर्थित संगठनको पनि छ होला । त्यो केन्द्रीय निकायले त्रिभुवन विश्वविद्यालय प्रशासनसँग कुराकानी गर्न सक्थ्यो । क्याम्पस प्रमुखले अनियमित वा गैरजिम्मेवार काम गरेका छन् भने त्यसबारे न्यूनतम प्रमाण संकलन गरेर प्रशासनिक तथा न्यायिक कारबाहीको बाटोमा अघि बढ्न सकिन्थ्यो । तर, आफैं दोषारोपण गर्ने र सजाय दिने राजपा विद्यार्थी संगठनको रबैया जंगलीपनको पराकाष्ठा हो, राज्यविहीनताको अवस्था हो, जसलाई किमार्थ सही भन्न सकिँदैन ।

 

एउटा लहड, सनक र बेपरबाहीले मात्र विद्यार्थीले आफ्ना गुरुलाई कालो मोसो दलेका होइनन् । यसपछाडि गम्भीर राजनीतिक दुराग्रह छ । मधेस आन्दोलनको परिणाम केन्द्रीय संसद्मा उपस्थिति र प्रादेशिक सत्तामा साझेदारी गरेको राजपा समर्थित सबै विद्यार्थीमा यो उन्माद नहोला । तर पनि जातपात, आफ्नोपराइ र लेनदेनमा विश्वास गर्नेहरूले नितान्त व्यक्तिगत स्वार्थले यो योजना बुनेका हुन् भन्ने बुझ्न बेर लाग्नुनपर्ने हो । 

 

विद्यार्थीले लेखपढ गर्ने हुन्, शिक्षालयका बेथितिका बारेमा कुरा उठाउने हुन् र बेठीक कुरा सच्याउन दबाब बनाउने हुन् । तर यहाँ विद्यार्थीले गुरुलाई कालो मोसो दलेर आफूहरू न्यायाधीश भएको भाष्य स्थापित गर्न खोजेका छन् । यो भाष्यले कसैको पनि हित साधन गर्न सक्दैन । एउटामात्र प्रश्न, हरेक विद्यार्थीका अभिभावक वा आफन्त खेतीकिसानी गर्दैनन् । सार्वजनिक संस्थामा सेवा गर्ने पनि हुन्छन् ।

 

आज कालो मोसो दलेकाहरूको बाबुबाजेसँग उनी काम गर्ने ठाउँमा यस्तै दुव्र्यवहार भइदिएको भए उनको मनमा के हुन्थ्यो ? भोलिका दिनमा एउटा सभ्य बच्चाले सानैदेखि भन्छ, ‘बाबा, सबैथोक गर्नुस् तर यी अराजक पुस्ताको गुरु नबन्नुस् । तपाईंको अनुहारमा छ्यापिने कालो मोसोले पुस्तौंपुस्तासम्म हाम्रो मुटु छियाछिया पारिरहनेछ ।’

प्रतिक्रिया दिनुहोस्