चुनावमा टिकट पाउन सजिलो, दशैंमा गाह्रो



काठमाडौं : दशैंमा छोराछोरी घर फर्कने दिन गन्दै बसिरहेका हुन्छन् घरका अभिभावकहरु । रोजगारीका लागि घर छाडेका छोराछोरी पनि वर्षदिनको दशैंमा एक पटक घर फर्कने तयारीमा हुन्छन् । यो पारिवारिक मिलनमा पुलको भूमिका खेलिरहेको हुन्छ यातायात सेवाले ।

यस वर्षको टिकट बुकिङ खुल्ने दिन कुर्दै थिइन्– रामेछाप घर भएकी सिर्जना भुजेल । उनको साथीले समाचार पढेर सुनाएपछि थाह पाएकी थिइन्, असोज ५ गतेबाट अग्रिम टिकट बुकिङ खुल्दैछ । उनलाई लाग्छ, ‘असोज ५ गते नै टिकट बुकिङ गरेर ढुक्क बनूँ ।’

असोज ५ गते आयो, बिहानै नयाँ बसपार्कमा पुगिन् उनी । तर टिकट काउन्टरमा १८ गतेको लागि टिकट माग्न उनले मुख मात्र के खोलेकी थिइन् काउन्टरका एकजना कर्मचारीले ‘टिकट त अस्ति सकियो’ भनेपछि उनी तीनछक परिन् ।

‘आज टिकट बुकिङ खुलेको कसरी अस्ति सकिन्छ ?’ मुखबाट उनको यो प्रश्न सिद्धिन नपाउँदै काउन्टरको मानिसले जवाफ दियो– ‘सरकारले कहिले खुलायो हामीलाई थाहा भएन,तर हामीले भदौ ३० गतेदेखि टिकट खुलायौं ।’ टिकेट पाइने आशा मर्यो । बरु मनमा कुरा खेल्न थाले– अघिपछि ब्याग समेत खोसेर हाम्रो गाडीमा जानु पर्छ भनी आग्रह गर्ने मानिस आज भिलेनजसरी कड्किरहेका थिए । उनी रित्तै हात फर्किइन ।

यसपाली दशैं मान्न घर जाने उनको सपना असहजै ट्ट्यो । कलंकी, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चाबहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, जगाती र लगनखेललगयतका स्थानमा टिकट काट्न पुगेका कति यात्रु रित्तै फर्किए । शनिबार बिहानै नयाँ बसपार्क पुगेका रमेश मगरले जाने भनेको दिनको टिकट नै सकिएर अर्को दिनको टिकट काटेर फर्किए ।

अब त घर फर्कने दिनहरु पनि यातायात व्यवसायीका बस खाली भएका दिनहरुमा पर्ने भए । १७ गते घर जाने योजना १९ गते मात्र पूरा हुने भयो । टाढाको यात्रा ! टीकाको दिन पनि घर पुगिन्छ वा पुगिदैन, अनिस्चित भयो । पानी परेको पर्यै छ, सडक जाम भएको भयै छ । जाँदा उदयपुर पुगी दाइको बच्चा लिएर खोटाङ पुग्नु छ । गाईघाटबाट टिकट पाउनै मुस्किल । दशैंको समयमा सरकारले विशेष यातायात व्यवस्था गर्नु पर्ने, तर सरकार नै मुकदर्शक बनेको छ ।

टिकट नपाएर भद्रगोल छ । ढिलै भएपनि टिकट लिनेहरुको अत्यासलाग्दो लाइन छ । महिला, विरामी, अशक्त, वृद्धवृद्धा, गर्भवती आदिका लागि विशेष व्यवस्था गरिएको पनि छैन । केही यातायात व्यवसायीहरुले मात्र अनलाइनमार्फत् टिकट बुकिङ गर्न सकिने व्यवस्था गरेका छन् ।

असोज २१ गते दसैंको टीका परेकाले असोज २० गतेसम्मका लागि यात्रुहरु उपत्यका बाहिर जान टिकट बुकिङ गरिरहेका छन् । ‘सरकारी’ टिकट बुकिङ खुलेको ६ दिन बितिसक्दा पनि टिकट लिनेहरुको भीडमा कमी आएको छैन ।

त्यति मात्र होइन, १९ र २० गतेका लागि पनि क्याबिन र पछाडितिरका सिट मात्र बाँकी छन् । सार्वजनिक यातायात सेवाहरुबाट निजी कम्पनीहरुमा रुपान्तरण गरिएका यातायात सेवा आवश्यक बसहरु थपेर थप सेवा उपलब्ध गराउन पनि त्यति इच्छुक भएका देखिदैनन् । यस्तो स्थितिमा विनासहयोग र ग्यारेन्टी सरकारी निर्देशन कार्यान्वयन हुने पनि देखिदैन ।

टिकट बुकिङ भदौ अन्तिमदेखि खुला भैराखे पनि आधिकारिक रुपमा नयाँ बसपार्कबाट दैनिक १० हजारका दरले टिकट बुकिङ भैरहेको त्यहाँको रेकर्डले देखाएको छ । यस वर्ष लगभग २५ लाख मानिसले उपत्यका छोड्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्