बढ्यो चहलपहल घट्यो व्यापार



काठमाडौं : घटस्थापनासँगै मुख्य बजारमा चहलपहल सुरु भएपनि पहिलेका वर्षहरुमा भन्दा यस वर्ष व्यापारमा भने कमी आएको छ । ठूला चाडपर्वमा असन, रत्नपार्क, भृकुटीमण्डप, सुन्धारा, भोटाहिटी, बसपार्क, लगनखेल, चावहिल, कोटेश्वर, बानेश्वर लगायतका बजारमा ग्राहकको भीड लाग्ने गथ्र्यो ।

अरु समयमा खान लाउन कम गरे पनि मुख्य चाडवार्डमा ऋण काढेरै भएपनि नयाँ लुगा लगाउने र मिठो खाने होडबाजी नै चल्ने गरेको देखिन्थ्यो । तर यसपाला भने सामानको मूल्य अथाह रुपमा बढाइएकाले व्यापारमा कमी आएको न्यूरोडमा पसल सञ्चालिका रिना श्रेष्ठ बताउँछिन् ।

उनका अनुसार पहिलेका दशैंमा दिनकै १५–१७ हजारसम्मको बिक्री हुन्थ्यो, तर यसपाली ७–८ हजारको मात्र बिक्री भइरहेको छ । भ्याट बढेपछि व्यापारीहरुको खरिद नै महंगो परेकाले ग्राहकलाई स्वतः झनै महंगो पर्न गएको छ । जनताको आर्थिक अवस्था कमजोर हुँदै गएको तर महंगी बढ्दै गएको कारणले पनि बजारमा किनमेल कमी हुन गएको हो ।

तीन वर्षदेखि बच्चाको कपडा बेच्दै आएकी उनी भन्छिन्– ‘यसपाली दशैं नआए जस्तो लागि रहेको छ । पहिलाका वर्षहरुमा यो सडकमा खुट्टा टेक्ने ठाउँ हुँदैन थियो, तर यस वर्ष खालीखाली जस्तो छ, आधा नै ग्राहक घटेका छन् ।’

उनी मात्र हैन असनका कपडा व्यापारी सिता मगर पनि बजार भाउ बढेरै यस दशैंमा कम ग्राहक आएको बताउँछिन् । उनी भन्छिन्– ‘पहिला एकछिन फुर्सद हुँदैन थियो यसपाली रित्तै छौँ । सरकारले बजार भाउ बढायो, रोजगारी छैन, पैसा छैन, कमाइ छैन । जनताको किन्न सक्ने क्षमता छैन, अनि कसरी व्यापार होस् त ।’

असनमै जुत्ता व्यापार गरेका अर्का व्यापार अभिनासले पनि सोचेजस्तो व्यापार नभएको बताउँछन् । सामान छोइसक्नु छैन । एउटै सामानलाई ३ पटक भन्सार तिर्नुपर्छ । आर्थिक मन्दीका कारण पनि महंगी बढेको हो । नेपाल सरकारको आफ्नो उत्पादन केही छैन । विदेशी आयत कम गर्न सकिने अवस्था छैन ।

दसैंका लागि सामान किन्न आएका ७५ वर्षे ज्येष्ठ नागरिक सिद्धिबहादुर थापालाई पनि यो दशैंमा सामान अत्यधिक महंगो भएको महसुस भएको छ । पहिलेका वर्षहरुमा रु. ८०–१०० पर्ने जीरामसला यो वर्ष प्रतिकिलो रु. ४२० पुगेको छ ।

बजार अनुगमन भएजस्तो महशुस नै नभएको अर्का ग्राहक रामहरि कँवर बताउँछन् । उनी भन्छन्– ‘सरकारले कडाइका साथ अनुगमन गरेर, दशैं लक्षित सस्तो पसल देशभर सञ्चालन गर्ने हो भने जनता कम मारमा पर्ने थिए ।’

दशैंको समयमा विशेष गरेर सुनचाँदी, लत्ताकपडा, भाडाकुँडा, जुत्ताचप्पल, खाद्यान्न लगायतका सामाग्री बढि बिक्री हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्