नागढुंगाबाट कटुवा पेस्तोलसहित २ जना पक्राउ



काठमाडौं : सुनसरी धरान घर भएका २४ वर्षीय शैलेस तामाङ र दाङ घोराही नगरपालिका–९ घर भएका २० वर्षीय उज्वललाई प्रहरीले काठमाडौंको नागढुंगाबाट पक्राउ गरेको छ ।

चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट कटुवा पेस्तोल १ थान र गोली १ थानसहित प्रहरीले उनीहरुलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले बुटवलबाट काठमाडौंतर्फ आउँदै गरेको लु.१ ख ९९८८ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार शैलेसको साथमा कटुवा पेस्तोल र सोही बसमा सवार उज्वलको साथमा सोही पेस्तोलको गोली १ थान बरामद गरेको प्रहरीले जनाएको छ ।

उनीहरु दुबै जनालाई नियन्त्रणमा लिई महानगरीय प्रहरी परिसर टेकु पठाएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर टेकुले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्