कहिले खुल्छ मलेसियाको रोजगारी ?



काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले ४ जेठमा मलेसिया जाने कामदार ठगी गर्ने सबै किसिमका अवैध संघसंस्था खारेजीको घोषणा गरेका थिए ।

लगत्तै प्रहरीले त्यस्ता संघसंस्थाका सञ्चालकहरूलाई पक्राउ गरेपछि करिब ७ महिनादेखि मलेसियाको वैदेशिक रोजगारी बन्द छ । आरोपित संस्थाका सञ्चालकविरुद्धको मुद्दा अदालतमा विचाराधीन अवस्थामै छ । 

मलेसियाको रोजगारीमा रोक लागेपछि १२ कात्तिकमा दुई देशबीच कामदारलाई आर्थिक भार नपर्ने श्रम समझदारी भएको थियो । सो समझदारी भएको सात हप्ता पुगिसक्दासमेत अवरुद्ध मलेसियाको रोजगारी सुचारु हुन सकेको छैन । आवश्यक नीतिगत तथा प्रक्रियागत संरचनाको व्यवस्थापनका कारण मलेसियाको रोजगारी खुल्न केही समय लाग्ने मन्त्री विष्टको भनाइ छ ।

‘श्रमिकहरू लाखौँ खर्च गरेर विभिन्न चरणमा ठगिँदै अनिश्चित वैदेशिक रोजगारीमा जाने बाध्यताको अन्त्य गर्न हामीले एउटा महत्वपूर्ण कदम उठाएका थियौँ,’ उनले भने, ‘नेपाली श्रमिकको हितलाई सुनिश्चित गर्नेगरी इतिहासमै पहिलोपटक दुई देशबीच श्रम समझदारी भएको छ । यद्यपि, त्यसको कार्यान्वयनमा हामीले केही विधि प्रक्रियाहरू पूरा गर्न केही समय अवश्य नै लाग्छ ।’ आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्