बिहे भोज खाएर सुतेका तीन जना मृत अबस्थामा फेला



रुकुम पश्चिम: रुकुममा बिहेको भोज खाएर सुतेका तीन जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका–१२, जुम्लावाङका अम्मर विकको छोराको बिहेमा सहभागी भएर भोज र रक्सी खाएर सुतेका तीन जनाको आइतबार राती मृत्यु भएको हो ।

 

सानी भेरी गाउँपालिका–९, मगरराङजाका ६३ वर्षीय खम्बु कामी, मुसिकोट नगरपालिका–११, भलाक्चा लहुँका ५४ वर्षीय कमानसिङ सार्की र मुसिकोट नगरपालिका–१२, नयाँ गाउँका २१ वर्षीय पलबहादुर विकको मृत्यु भएको प्रहरीले जनाएको छ।

 

आइतबार बिहेको भोजसहित मदिरा सेवन गरेर बिहे भएकै घरमा सुतेका उनीहरू सोमबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए । विषाक्त रक्सी सेवन गरेका कारण उनीहरूको मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी खड्काले बताए ।

 

‘घटनाबारे जानकारी आएलगत्तै डाक्टरको टोलीसहित म घटना स्थल पुगेको छु,’ डिएसपी खड्काले टेलिफोनमा भने, ‘मृतकहरूले बिहे घरमा व्यवस्था गरिएको भन्दा छुट्टै रक्सी सेवन गरेको पाइएको छ।’सोमबार बिहानै वडा अध्यक्ष प्रेम ओलीले घटनाबारे प्रहरीलाई खबर गरेका थिए ।

 

एउटै कोठामा सुतेका पाँच मध्ये तीन जनाको मृत्यु भएको हो। ती तीन जनाले सेवन गरेको रक्सी र अरू दुई जनाले सेवन गरेको रक्सी फरक फरक पाइएको पनि डिएसपी खड्काले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको राजधानीमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्