आज दशैको सातौ दिन फूलपाती : यससँग जोडिएको यस्तो छ घतलाग्दो कथा



काठमाडौ : आज सप्तमी, अर्थात फूलपाती । यो तिथिको विशेष महत्व रहेको छ । यो दिन दशैंका लागि पूजा सामग्री स्वरुप फूलपाती आगमनमा प्रवेश गराउने गरिन्छ । यसैकारण आजको दिनलाई फूलपाती भनिएको हो । घटस्थापनाको दिनदेखि नै दशैं सुरु भए पनि दशैंको चहलपहल भने आज अर्थात फूलपातीदेखि सुरु हुन्छ ।फूलपातीको प्रचलन र महत्वबारे केही कथन प्रचलित छन् ।

घर–घरमा फूलपाती भित्र्याएपछि दशैंको रौनक सुरु हुन्छ । शास्त्रिय विधी अनुसार शुभ साइतको प्रतिक मानेर फूलपाती भित्र्याइने गरिन्छ ।

केरा, दारिम, धान, हलेदो, माने, कर्चुरा, बेल, अशोक र जयन्ती जस्ता नौ प्रकारका पातहरुलाई पूजेर पत्येक नौका दरले दुर्गापूजा गरेको स्थानमा भित्र्याइने प्रचलन छ । यी नौ पातमा ब्रम्हाणी, रक्चचण्डिका, लक्ष्मी, दुर्गा, चामुन्डा, कालिका, शिवा, शोकहारिणी र कार्तिकी देवीलाई एक एक गरेर सोह्र सामग्रीले पुजिन्छ ।

यस दिन गोरखा दरबारको दशैंघरबाट ल्याइएको फूलपाती राजधानी ल्याएर बढाइँसाथ हनुमानढोका भित्र्याउने चलन छ । गोरखादेखि धादिङ जिल्लाको जीवनपुरसम्म दशैंघरसका पूजारीसहित मगर जातिका ६ जनाले ल्याउने चलन छ । त्यसपछि धादिङ जिल्लाको जीवनपुरदेखि काठमाडौंको जमलसम्म काठमाडौंबाट गएका ब्राम्हण जातिका ६ जनाले ल्याउने परम्परा विद्यमान छ ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्यान्डबाजा, पञ्चेबाजा, सिंगारिएका कल्स्यौंडी र सांस्कृतिक नाचगानसहितको लावालस्कारका साथ फूलपाती ल्याउने गरिन्छ ।

भनिन्छ, टुक्रे राज्यको रुपमा रहेको नेपाल एकिकरणपछि गोरखाबाट उठाइएको फूलपाती मुलुकका विभिन्न शक्तिपीठहरुमा पुर्‍याउने गरिन्थ्यो । काठमाडौंको हनुमानढोकाको तलेजु भवानीको मन्दिरमा रहेको दशैंघरमा गोरखाबाट ल्याइएको फूलपाती धदिङ जिल्लाको जीवनपुर हुँदै भित्र्याइने चलन रहेको थियो ।

वडा दशैंको अनेक विशेषता र महत्व छन् । यसको आफ्नै खालको सामाजिक मूल्य र मान्यता रहेको छ जसले समाजलाई एकसूत्रमा जोड्ने काम गरेको छ । यस्तै धार्मिक महत्व रहेको छ, जसले शक्ति र सत्यको जीत हुन्छ भन्ने सन्देश दिन्छ । आर्थिक महत्व छ, जसले लत्ताकपडादेखि खाद्यन्नसम्मको बजार उत्कर्षमा पुर्‍याउँछ । खासमा दशैं टाढा–टाढा रहेका आफन्तलाई एकै थलोमा ल्याइपुर्‍याउँने एउटा माध्यम पनि हो ।

दशैं सद्भाव र एकताको पनि पर्व हो । घटस्थापना देखि दशैंको विधिवत सुरुवात हु्ने दशैंको दशौं दिनमा टिका हुन्छ । जुन दिन आफन्त, गन्यमान्यबाट टीका थाप्ने गरिन्छ । त्यसो त यस दिनलाई विजय दशमी भनिन्छ ।

दशैं सुरुभएदेखि हरेक दिनको आ–आफ्नै महत्व र अर्थ छ । यो धार्मिक परम्परासँग मात्र नजोडिएर हाम्रो जीवन पद्दतिलाई सुखदायी, प्रेममय बनाउने सूत्र पनि यसमा छ ।

प्रतिक्रिया दिनुहोस्