ढोकामा नुनको पोको झुन्ड्यार बिरामीको उपचार



गोरखा : पछिल्लो समय बिरामी पर्नासाथ उपचार गर्ने चेतना बढिरहेको छ । तर गोरखामा एउटा यस्तो गाउँ छ, जहाँ बिरामी भए नुनको पोको ढोकामा झुन्ड्याएर देउता पुकारिन्छ । हिमाली भेगको चुमनुब्री गाउँपालिका-३ सिर्दीबासमा कोही बिरामी परे नुनको पोको ढोकामा झुन्ड्याउने पुरानो प्रचलन अझै यथावत् छ ।

धामीले जोखाना हेरेपछि देवता लागेको भने ढोकाभित्र र भूत लागेको भने ढोकाबाहिर नुनको पोको झुन्ड्याउने चलन रहेको स्थानीय लोकबहादुर गुरुङले जानकारी दिए । साबिक सिर्दीबास गाविसको सबैभन्दा पुरानो गाउँ मानिने यहाँ १९ घर छन् । यसलाई कर तिर्ने गाउँका रूपमा पनि चिनिन्छ ।

‘सिर्दी भनेको कर हो’, गुरुङले भने, ‘गाउँछेउ ठूलो रुख छ । बाजेका पालामा १८ सय खोलाको कर त्यही रुखको फेदमा लिनेदिने चलन थियो । कर तिर्ने र उठाउने त्यहीं बास बस्थे । त्यसैले ठाउँको नाम नै सिर्दीबास भयो ।’ अहिले सिर्दीबासभन्दा केही तलको गाउँमा लार्के भन्सार कार्यालय छ । कर अथवा जगाती उठाउने ठाउँ भएकाले सो गाउँलाई जगत भनेर चिनिन्छ ।

यहाँ कोही बिरामी भए कर लेनदेनमा खटपट भएर, करले पिरेर बिरामी परेको ठान्ने चलन छ । ‘पोकोभित्र नुन, चामल र पैसा राखिन्छ’, उनी भन्छन्, ‘निको भएपछि देउताको थानमा त्यो पोको चढाएर पूजा गरिन्छ ।’ अर्का स्थानीयका अनुसार बाबुबाजेको पालामा सिर्दी नामको भोटेनुन बेच्ने र किन्नेहरू बास बस्ने भएकाले सिर्दीबास भनिएको हो ।

कोही बिरामी परे नुन लेनदेनमा गडबडी भएको मानिन्छ । त्यसैले नुनको पोको बाँधेर पुकारपात गरेर ढोकामा झुन्ड्याएपछि बिसेक हुने जनविश्वास छ । पछिल्लो समय स्वास्थ्य संस्थामा उपचार गराउने र नुनको पोको पनि झुन्ड्याउने गरेको स्थानीय बताउँछन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्