चिनी अायातकाे काेटामाथि सांसदद्वारा छानबिन माग



काठमाडौं : चिनी आयातमा कोटा तोक्ने सरकारी निर्णयमाथि आशंका व्यक्त गर्दै सांसदहरूले छानबिनको माग गरेका छन् । संसद्को सार्वजनिक लेखा समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा बोल्ने अधिकांश सांसदले पर्याप्त तयारी र वस्तुस्थिति नबुझी चिनीमा कोटा तोकिएको आरोप लगाए ।

 

सांसदहरूले आर्थिक प्रलोभनमा सरकारले चिनी आयातमा परिमाणात्मक बन्देज लगाएको आरोपसमेत लगाए । वार्षिक एक लाख मेट्रिक टन मात्रै आयात गर्न पाउने गरी सरकारले परिमाणात्मक बन्देज लगाएको छ । 

पूर्वआपूर्तिमन्त्री समेत रहेका लेखराज भट्टले भने, ‘चिनीमा ठूलो आर्थिक चलखेलकै कारण आयात रोकिएको छ।’

 

आयात बन्देज लगाउँदा १ अर्ब ६९ करोड रुपैयाँको चलखेल भएको सुन्नमा आएको उनले बताए । ‘चिनी उद्योगहरू बोर्डरमा छन्। पारिबाट ल्याएर नेपाली उत्पादनको छाप लगाएर बिक्री हुन्छ । मन्त्रालयको ध्यान किन पुग्दैन?’ उनले भने, ‘ठूलो चलखेल छ । लेखा समितिले छानबिन गर्नुपर्छ ।’

 

बैठकमा स्वतन्त्र सांसद हृदयेश त्रिपाठीले चिनीको मूल्यवृद्धिमा सरकार सहायक भएको आरोप लगाए । पहिला अत्यधिक चिनी आयात गर्न दिएर पछि कोटा तोक्ने सरकारी निर्णयले आशंका जन्माएको उनको भनाइ छ । 

 

नेकपाका सांसद प्रेमबहादुर राईले सीमानाकामा रातारात ट्रकका ट्रक चिनी ओसारेर नेपाली ब्रान्डका नाममा प्याकिङ गरेर बजारमा पठाउने काम भइरहेको भन्दै अनुगमनको माग गरे । त्यस्तै नेकपा नेता विरोध खतिवडाले चिनीको कोटा तोक्ने निर्णय गरिए पनि किसानले उखुको मूल्य पाउने सुनिश्चित नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्