प्रभु शाहले किन भने, ओली–प्रचण्ड सोले फिल्मका जय र विरु जस्तै



रौतहट : सत्तारुढ नेकपाका प्रदेश नम्बर २ का अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रभु साहले पार्टी अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको सम्बन्ध हिन्दी चलचित्र सोलेका पात्र द्वय जय र वीरुको जस्तो भएको दाबी गरेका छन् । दसैं, तिहार तथा छठको अवसरका रौतहटको देवाहीगोनाही नगरपालिकामा आयोजित एक शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

अन्तरक्रिया कार्यक्रममा साहले अध्यक्ष द्वयको भूमिका देशका लागि अति आवश्यक भएको र यसले देशमा समृद्धि ल्याउन सहयोग पुर्याउनुका साथै नेपाली कम्युनिष्ट आन्दोलनलाई पनि सफल बनाउन सक्ने कुरामा जोड दिएका थिए ।

अध्यक्ष द्वयलाई सम्बोधन गर्दै उनले भनेका थिए : ‘तपाईहरुले बलिउडको फिल्म सोले हेर्नुभएकै होला, समाजमा आतंकको रुपमा रहेको गब्बरसिंलाई परास्त गर्न जय र विरु एक भएर लडी विजय हासिल गरेका छन् । ती दुई एक ठाउँमा नभएको भए विजय संभव थिएन । आज देशलाई समृद्धि र अग्रगमनतर्फ अघि बढाउन वामपन्थी कमाण्डर द्वय मिलेर समाजमा व्याप्त उत्पीडन र पछौटेपनबाट हटाउनु जरुरी छ ।’

पर्वहरुमध्ये दसैंको सन्दर्भलाई जोडेर उनले थप भनेका थिए– ‘असत्यमाथि सत्यको विजयको खुसियाली मनाइरहँदा समाजबाट गलत प्रवृत्ति र बेथितिको अन्त्य गर्न ग्रामीण विकासका लागि स्थानीय जनता र नेता तथा कार्यकर्ता हातेमालो गर्दै अघि बढ्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्