स्वास्थ्य शिविरमा पाँच सय जनाको उपचार



पाल्पा: पाल्पाको रामपुरमा चलेको दुई दिने स्वास्थ्य परीक्षण शिविरमा ५५६ जनाको उपचार गरिएको छ । सोमबार २६० जनाले तथा मङ्गलबार २९६ जनाले सो शिविरमा उपचार पाएका छन् ।

 

रामपुर नगरपालिका–६ का वडाध्यक्ष हुमनाथ न्यौपानेका अनुसार नागरिकलाई सहज स्वास्थ्य उपचार सेवा दिनका लागि शिविर आयोजना गरिएको हो । “स्वास्थ्य परीक्षण गर्नेको चाप बढेपछि एकदिने शिविरलाई दुई दिनसम्म सञ्चालन गरेका हौँ,” उनले भने ।

 

रामपुर नगरपालिकाको समन्वय र वडा नं ६ को व्यवस्थापनमा चण्डेश्वरी आयुर्वेदिक प्रालि, काठमाडौँको प्राविधिक सहयोगमा उक्त शिविर सञ्चालन गरिएको हो । शिविरमा आयुर्वेद विभागका पूर्वमहानिर्देशक शेषराज आचार्यसहितको टोलीले आयुर्वेदिक पद्धतिको अध्याधुनिक उपकरणबाट स्वास्थ्य परीक्षण गरेको थियो ।

 

अनुदानमा हाते ट्याक्टर

पाल्पाको पूर्वखोला गाउँपालिकाले कृषकलाई अनुदानमा हाते ट्याक्टर वितरण गरेको छ । गाउँपालिकाको वडा नं ३ रिङ्नेरहमा साविकका नौ वडाका कृषक समूहलाई एक÷एक हाते ट्याक्टर ५० प्रतिशत अनुदानमा वितरण गरिएको वडाध्यक्ष निलकण्ठ भट्टराईले जानकारी दिए ।

 

गाउँपालिकाका छ वडामा ५३ वटा हाते ट्याक्टर वितरण गरिएको छ । गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले हाते ट्याक्टर वितरण गरिएको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापा बताए । अनुदानमा हाते ट्याक्टर पाएपछि कृषक खुशी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्