आफ्नो मान, शीर्ष नेताको अपमान



जनकपुरधाम : रामसीता विवाह महोत्सवका अवसरमा प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्षमण्डलका नेताहरूलाई अपमान गरिएको खुलासा भएको छ । कार्यक्रममा प्रदेश सरकारकै एक मन्त्रीको ‘उच्च स्पेस’ लिने आकांक्षाका कारण राजपा अध्यक्षमण्डल संयोजक एवं सदस्यहरूको मर्यादा मिचिएको हो । 

मधेस भवनमा प्रदेश सरकारले आयोजना गरेको औपचारिक कार्यक्रममा राजपा अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतो र पूर्वसंयोजक महन्थ ठाकुरलाई आसनग्रहणको अन्त्यमा प्रतिनिधिसभा सदस्यका रूपमा बोलाइएको थियो । उनीहरु दुवैजनाका लागि मञ्चको दोस्रो लहरमा सिट व्यवस्थापन गरिएको थियो ।

त्यसअघि मञ्चको पहिलो लहरमा मुख्यमन्त्री लालबाबु राउत, भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, प्रदेश २ का सभामुख, उत्तरप्रदेशका मन्त्रीहरू र भारतीय राजदूत मञ्जीव सिंह पुरीले आसनग्रहण गरेका थिए भने प्रदेशका मन्त्री र राज्यमन्त्रीहरूले समेत मञ्चमा आआफ्नो ठाउँ ओगटिसकेका थिए । 

कार्यक्रमका लागि मञ्च व्यवस्थापन गर्ने जिम्मा पाएका प्रदेश मन्त्री एवं राजपा महामन्त्री जीतेन्द्र सोनल पनि मञ्चको पहिलो लहरकै बसेका थिए । प्रदेश २ मा सत्तासाझेदार दल राजपाको अध्यक्षमण्डलका छजनालाई मुख्यमन्त्री राउतले कार्यक्रममा सरिक हुन आमन्त्रण गरेका थिए । 

मधेस भवनभित्र त्यस दिन आयोजित औपचारिक कार्यक्रममा मुख्यमन्त्री राउतले राजपा अध्यक्षमण्डल संयोजक राजेन्द्र महतोलाई मात्र मञ्चको पहिलो लहरमा बसाउन निर्देशन दिएका थिए । महन्थ ठाकुरका लागि दोस्रो लहरमा ठाउँ राखिएको थियो । तर भारतीय प्रादेशिक मन्त्री पहिलो लहरमा बस्ने भएपछि आफू पनि अघिल्तिरै बस्ने ढिपी गरेका भौतिक योजना तथा पूर्वाधार मन्त्री सोनलले महतो र ठाकुर दुवैका लागि दोस्रो लहरमा मात्रै सिट खाली रहेको हेक्का राखेनन् । 

भारतीय प्रादेशिक मन्त्री पहिलो लहरमा बस्ने भएपछि आफू पनि अघिल्तिरै बस्ने ढिपी गरेका भौतिक योजना तथा पूर्वाधार मन्त्री सोनलले महतो र ठाकुर दुवैका लागि दोस्रो लहरमा मात्रै सिट खाली रहेको हेक्का राखेनन् ।

मन्त्री सोनलले महत्वका साथ मञ्चासीन हुने दबाब बढाएपछि मुख्यमन्त्री राउतले पनि आफ्नो पार्टी संघीय समाजवादी फोरमका मन्त्रीहरूलाई मञ्चमा बोलाउन लगाएका थिए । त्यसपछि प्रदेश सरकारका राज्यमन्त्रीहरूसमेत मञ्चमा पुगेका थिए ।

‘आसनग्रहणको अन्त्यतिर राजपा अध्यक्षमण्डलका संयोजक र सदस्यहरूलाई बोलाइयो । लगातार दस मिनेटसम्म बोलाइएपछि कार्यक्रममा केही बेर अन्योल भयो । कार्यक्रम नभाँडियोस् भनेर ‘अपमानको विष’ पिएर भए पनि महतो र ठाकुर मञ्चमा पुगे,’ कार्यक्रममा सहभागी एक नेताले भने, ‘ठाकुरजीका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले आफ्नो ठाउँ छाडे । अनि अलिक अप्ठ्यारो मान्दै मन्त्री सोनलले पनि आफू बसेको ठाउँ खाली गरेर अघिल्लो पंक्तिमा महतोजीका लागि पनि बस्ने व्यवस्था गरे ।’

मञ्चको पहिलो लाइनमा महतो र ठाकुरले स्थान लिएपछि राजदूत पुरी र मन्त्री सोनल उनीहरूका लागि पूर्वनिर्धारित दोस्रो लहरमा बस्न पुगेका थिए । नेपाल सरकारको मर्यादाक्रमअनुसार प्रादेशिक मन्त्रीभन्दा माथि प्रतिनिधिसभा सदस्य हुने गर्छन् ।

‘एक त सत्तासाझेदार दलको नेतृत्वकर्ताका हैसियतमा राजपा अध्यक्षमण्डलका छजनालाई मुख्यमन्त्रीले कार्यक्रममा बोलाउनुभएको थियो, त्यसमा ख्याल गरिएन । अर्कोतिर उहाँहरू प्रतिनिधिसभा सदस्यका रूपमा र अझ ठाकुरजी प्रतिनिधिसभामा विपक्षी दलको नेताका रूपमा मर्यादाक्रममा प्रादेशिक मन्त्रीभन्दा उपल्लो ठाउँमा हुनुहुन्थ्यो । यसलाई पनि बेवास्ता गरियो,’ ती नेताले भने, ‘मै खाऊँ मै लाऊँ भन्ने मन्त्री सोनलको प्रवृत्तिका कारण राजपाका शीर्ष नेताहरूले अपमान सहनुपर्यो ।’

मुख्यमन्त्री राउतले भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगीसहित जन्तीका लागि आयोजना गरेको भण्डारामा सहभागी हुन आमन्त्रण गरिएका राजपा अध्यक्षमण्डलका अन्य सदस्यहरू औपचारिक कार्यक्रममा मञ्चासीन नगराइने सूचना पाएपछि कार्यक्रममा सरिक भएनन् ।

अध्यक्षमण्डलका सदस्य शरत्सिंह भण्डारीले आफूहरु योगी आदित्यनाथको सांस्कृतिक भ्रमणमा बेहुली पक्षबाट जन्तीलाई स्वागत गर्ने तयारीमा रहेको तर औपचारिक कार्यक्रम पनि हुने भन्ने खबर पाएपछि त्यसमा सहभागी नभएको बताए । उनले भने, ‘भोज खाने ठाउँमा भाषण गर्ने होइन नि ।’ 

भारतीय प्रधानमन्त्री मोदी एक वर्षअघि जनकपुर भ्रमणमा पुगेका बेला मन्त्री सोनलले प्रदेश सरकारद्वारा आयोजित नागरिक अभिनन्दनमा उद्घोषकको भूमिका निर्वाह गरेका थिए । मोदीका आँखामा पर्न उनले आफ्नो मर्यादा बिर्सेर उद्घोषक बन्ने निर्णय गरेको भनी उति बेलै आलोचना भएको थियो ।

मञ्चको कार्यक्रममा राजपा अध्यक्षमण्डलका महेन्द्रप्रसाद यादव, भण्डारी, अनिलकुमार झा र राजकिशोर यादवसमेत सहभागी भएनन् । यसअघि उत्तरप्रदेशका मुख्यमन्त्री योगीसँगको भेट व्यवस्थापनमा पनि गम्भीर त्रुटि भएको राजपा नेताहरूले अनुभव गरेका छन् ।

‘योगीजीसँग राजपा शीर्ष नेताको आधिकारिक र कन्फिडेन्सियल भेट हुने सूचना दिइएको थियो । तर, पछि अन्य पार्टीका दोस्रो लाइनका नेता र प्रादेशिक मन्त्रीहरूसँगै भेट गराइयो । त्यसमा पनि बस्ने ठाउँमा मर्यादाअनुसार सिट व्यवस्थापन गरिएको थिएन,’ राजपा अध्यक्षमण्डल संयोजक महतोनिकट एक सञ्चारकर्मीले भने । 

मधेस भवनभित्रको यो भेटमा महेन्द्र, भण्डारी र राजकिशोर उपस्थित थिएनन् । योगीसँग राजपा अध्यक्षमण्डल संयोजक महतो, पूर्वसंयोजक ठाकुर र अर्का सदस्य झाले चमकविहीन अनुहार लिएर भेट गरेको तस्बिर सार्वजनिक भएको थियो । तस्बिरमा उनीहरूसँगै सत्तारुढ दल फोरमका दोस्रो लाइनका नेताहरूसमेत देखिएका थिए । 

विवाहपञ्चमी महोत्सवका बेला फोरम अध्यक्ष उपेन्द्र यादव भारतको राजधानी दिल्ली पुगेका थिए । त्यहाँ उनको भेट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको थियो ।

 

४० मिनेटसम्म थाल रित्तो

मधेस भवनको कार्यक्रम कति फितलो थियो भन्ने कुरा भोज खान बसेका जन्तीसहितका व्यक्ति अगाडि ४० मिनेटसम्म पात राखिँदासम्म भोजन पस्किएको थिएन । 

भोज खान बसेका योगी, राउत, महतो, ठाकुरलगायतका लागि पात राखिएको ४० मिनेटपछि मात्रै खाने साइत जुरेको थियो । त्यतिन्जेल उनीहरू एकअर्काको मुख हेराहेर गर्दै बसेका थिए ।

 अब के ?

पार्टीका तर्फबाट प्रदेश २ सरकारमा सहभागी नेताहरू आत्मकेन्द्रित र अति महत्वाकांक्षी भइरहँदा बिच्किएका राजपाका शीर्ष नेताहरूले विवाह महोत्सवक्रममा मन्त्री सोनलले देखाएको व्यवहार समीक्षायोग्य भएको बताएका छन् ।

‘ठाकुरजीको अगाडि मन्त्री सोनलले ठूलो बन्ने आँट नगर्नुपर्ने हो तर उनले यस्तो किन गरे भन्ने विषयमा अध्यक्षमण्डल बैठकमा छलफल हुनेछ,’ राजपाका एक महासचिवले भने । 

भारतीय प्रधानमन्त्री मोदी एक वर्षअघि जनकपुर भ्रमणमा पुगेका बेला मन्त्री सोनलले प्रदेश सरकारद्वारा आयोजित नागरिक अभिनन्दनमा उद्घोषकको भूमिका निर्वाह गरेका थिए । मोदीका आँखामा पर्न उनले आफ्नो मर्यादा बिर्सेर उद्घोषक बन्ने निर्णय गरेको भनी उति बेलै आलोचना भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्