चोरी अभियोगमा पक्राउ परेका युवक त्रिशूलीमा हाम फाले



नुवाकोट : नुवाकोटको किस्पाङ गाउँपालिका–५ शान्तिबजारमा रहेको जलविद्युत् आयोेजनाको निर्माण सामग्री चोर्दै गरेका एक अभियुक्त त्रिशूली नदीमा हाम फालेका छन् ।

नुवाकोट र रसुवाको सिमाना मैलुङ शान्तिबजारमा निर्माणाधीन त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको निर्माण सामग्री चोर्ने क्रममा पक्राउ परेका चारमध्ये एक युवक त्रिशूली नदीमा हाम फालेको नुवाकोट प्रहरी कार्यालयले जनाएको छ ।

बुधबार बिहान २ बजे सो आयोजनाको निर्माण सामग्री पाइप र फलाम चोरिरहेको अवस्थामा पक्राउ परेका रसुवाको उत्तरगया गाउँंपालिका वडा नं. २ का १९ वर्षीय मैते तामाङ प्रहरी घेरा तोडेर त्रिशूली नदीमा हाम फालेको किस्पाङका अध्यक्ष छत्रबहादुर लामाले बताए ।

प्रहरी घेरामा रहेका युवक हाम फालेको विषयलाई लिएर आक्रोशित स्थानीय र प्रहरीबीच तनाव सिर्जना भएको छ । नुवाकोट प्रहरीले समन्वयात्मक रुपमा कार्य गर्न नसकेको भन्दै स्थानीयले विरोध प्रदर्शन गर्दा बुधबार दिनभरि मैलुङक्षेत्र तनावग्रस्त भएको छ ।

प्रहरी र स्थानीयबीच दोहोरो झडपको स्थिति थियो । स्थानीयवासी आक्रमण र तोडफोडमा उत्रिएपछि प्रहरीले सात राउन्ड हवाइफायर गर्नुपरेको प्रहरीले जनाएको छ ।

स्थानीय र प्रहरीबीच दोहोरो झडप हुँदा मैलुङ चौकीमा स्थानीयले तोडफोड गरेको प्रहरीले जनाएको छ । झडपमा प्रहरी हवल्दार चन्द्रिका भगत र अर्का एक जवान घाइते भएको प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्