इलाममा प्रधानमन्त्री ओलीलाई अभिनन्दन गरिने



इलाम : यही पुस २० गते यहाँ आयोजना हुने लगानी सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अभिनन्दनसहित सम्मान गरिने भएको छ । राष्ट्र निर्माणमा पुर्‍याएको योगदानको कदर गर्दै प्रधानमन्त्री ओलीलाई इलाम नगरपालिकाले अभिनन्द गर्ने भएको हो । 

 

इलामको विकासमा समेत प्रधानमन्त्रीले उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै सम्मानस्वरुप अभिनन्दन गरिने नगरपालिकाका प्रवक्ता ठाकुरनारायण श्रेष्ठले जानकारी दिए । 

 

सो अवसरमा पूर्वप्रधानमन्त्री, पूर्वसभामुख, इलामबाट प्रतिनिधित्व गरेका सांसद तथा उद्योगीकोसमेत उपस्थिति रहने जनाइएको छ । 


लगानी सम्मेलन हुँदै 

 

बाह्य लगानी भित्र्याउने र आन्तरिक स्रोतलाई परिचालन गर्ने उद्देश्यले सो नगरपालिकाले सम्मेलन गर्ने भएको छ । जिल्लामा लगानीका सम्भावना भए पनि परिचालन नहुँदा लगानीयोग्य क्षेत्र खेर गइरहेको भन्दै नगरले पाँच वटा शीर्षकमा लगानी गर्न आह्वान गर्दै लगानी सम्मेलन गर्ने भएको हो । 

 

सम्मेलनमा कृषि, दूध, जडीबुटी, पर्यटन र चिया क्षेत्रमा लगानी गर्न लगानीकर्तालाई आह्वान गरिने नगर प्रमुख महेश बस्नेतले जानकारी दिए । सम्मेलनमा देशका १०० भन्दाबढी लगानीकर्ता भित्र्याइने बताइएको छ । 

 

सो अवसरमा आन्तरिक स्रोतको प्रचारप्रसार र प्रवद्र्धन गर्नका लागि लगानीकर्तालाई लगानीयोग्य क्षेत्रका बारेमा जानकारी गराइनेछ । विशेष गरी इलाममा जन्मेर इलाम बाहिर रहेका लगानीकर्तालाई आह्वान गरिने जनाइएको छ । 

 


चियाबारीमा रङ्गशाला बनाइने 

इलाम सदरमुकामस्थित चियाबारी क्षेत्रमा रङ्गशाला निर्माणका लागि उक्त नगरपालिकाले प्रक्रिया शुरू गरेको छ । सदरमुकाममा रङ्गशाला रहे पनि आर्मीको स्वामित्वमा रहेकाले सर्वसाधारणका लागि अर्को रङ्गशाला निर्माण गर्न लागिएको हो । 

 

इलाम नगरपालिका वडा नं ७ अन्तर्गत सेतीदेवी जाने बाटोदेखि पश्चिम, गोरेटोबाटो उत्तर र नगरपालिका कार्यालय भवनभन्दा माथि चौतारादेखि पूर्वक्षेत्रभित्रको सरकारी जग्गामा इलाम चिया बगान रहेको जग्गामा व्यवस्थित रङ्गशाला बनाउनका लागिएको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्