परीक्षा नदिई ९५ हजार स्वास्थ्यकर्मी काम गर्दै



काठमाडौं : नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले शैक्षिक प्रमाणपत्र पेस गरेको भरमा योग्याता परीक्षा नलिई ३२ संकायका ९५ हजार स्वास्थ्यकर्मीलाई लाइसेन्स दिएको छ । सामान्य चिकित्सा, डेन्टल, जनस्वास्थ्य, रेडियोग्राफर, प्राकृतिक चिकित्सा, फिजियोथेराजी, ल्याब, सीएमए, एचए, जनस्वास्थ्यलगायतका ३२ संकायले परीक्षाबिनै लाइसेन्स पाइरहेका छन् । 

परिषदमा आबद्ध ९५ हजार जनशक्तिले परीक्षाबिनै लाइसेन्स लिएका छन् । तर, ती जनशक्तिले के र कसरी काम गरिरहेका छन् भन्नेबारेमा परिषद बेखबर छ । 

परिषदमा आवद्ध हुन लाइसेन्स आवश्यक पर्छ । तर, परिषद् गठन भएपछि नै परीक्षा नै लिई शैक्षिक प्रमाणपत्र पेस गरेको भरमा लाइसेन्स उपलब्ध गराइरहेको छ । 

स्वास्थ्यकर्मीले आवश्यक शुल्कसहित शैक्षिक योग्यता पेस गरेपछि अध्यक्ष र रिजिस्ट्रारमार्फत परिषद्ले व्यवसायको लाइसेन्स दिने गरेको हो । 

परीक्षा दिएर मात्रै लाइसेन्स दिनुपर्ने प्रावधान हुनुपर्ने संयुक्त स्वास्थ्य समन्वय व्यवसायी समितिका संयोजक माइकल देवकोटाले बताए । उनले भने ‘डाक्टर नर्सहरुले नेपाल मेडिकल काउन्सिलले परीक्षा लिन्छ। तर ३२ संकायको परीक्षाबिनै लाइसेन्स दिएको छ ।’ 

‘नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन २०५३’ ऐनमा स्वास्थ्य व्यवसायीहरुको योग्यता निर्धारण गरी योग्यता पुगेका स्वास्थ्य व्यवसायीको नाम सूचीकृत गर्ने व्यवस्था छ । ऐनमा योग्यता निर्धारणको आधार शैक्षिक प्रमाणपत्रलाई मानिएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्