ट्रम्पको विवादित परोपकारी संस्था बन्द हुने



वासिङ्टन: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विवादित परोपकारी संस्था ट्रम्प फाउन्डेशन बन्द गर्ने सहमति बनेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका छोराछोरीले सञ्चालन गरिरहेको यो फाउन्डेशनको रकमको गैरकानुनी रुपमा प्रयोग भइरहेको आरोप लाग्ने गरेको छ ।

 

विवाद बढिरहँदा डोनाल्ड ट्रम्प आफ्नो परिवारले चलाएको ट्रम्प फाउन्डेशन बन्द गर्न सहमत भएका हुन् । न्युयोर्ककी महान्यायधिवक्ता बारबरा अन्डरउडले यस मामलामा ट्रम्प परिवारविरुद्ध मुद्दा दायर गरेकी थिइन् । उनले ट्रम्पले आफ्नो व्यापारिक र राजनीतिक फाइदाका लागि फाउन्डेसनको प्रयोग गरेको आरोप लगाउँदै मुद्दा दायर गरेकी थिइन् ।

 

अब यो फाउन्डेशन बन्द गर्ने निर्णय भएसँगै यसलाई न्यायिक पर्यवेक्षणमा भंग गरेर त्यसको बाँकी रहेको पैसा अन्य परोपकारी संस्थालाई बाँढिनेछ । अमेरिकी राष्ट्रपति ट्रम्प र उनका तीन जना छोराछोरी अब न्युयोर्कमा कुनै अर्को परोपकारी संस्थाको बोर्ड सदस्य बन्न पाउने छैनन् । उनीहरुलाई कुनै पनि परोपकारी संस्थाको बोर्ड सदस्य बन्न प्रतिबन्ध लगाइएको छ ।

 

फाउन्डेशनका वकिलले भने महान्यायधिवक्ता बारबरा अन्डरवुडले यो विषयलाई राजनीतिकरण गरेको आरोप लगाएका छन् । ट्रम्प र उनको परिवारविरुद्ध चलिरहेको यो एउटामात्रै मुद्दा भने होइन । यस्ता केही थप मुद्दाका कारण ट्रम्प परिवारमाथि संकटको अवस्था सिर्जना भएको छ । सन् २०१६ मा भएको राष्ट्रपतिको निर्वाचनमा रुसी हस्तक्षेपको विषयमा चलिरहेको मुद्दा यसमध्ये सबैभन्दा ठूलो मुद्दा हो । रुसी हस्तक्षेप प्रकरणबारे एफबीआईका पूर्वप्रमुख रोबर्ट मुलरको नेतृत्वमा छानविन भइरहेको छ ।

 

महान्यायधिवक्ता अन्डरउडले ट्रम्प र उनकी छोरी इभान्का र छोरा एरिकमाथिको मुद्दा जारी रहने बताएकी छन् । ट्रम्पको परिवारलाई फाउन्डेसनको धेरैजसो रकम दानका रुपमा प्राप्त हुने गर्दथ्यो । अन्डरउडले सन् २०१६ को निर्वाचनमा फाउन्डेशनको प्रयोग राजनीतिक हथकन्डाका रुपमा प्रयोग गरिएको बताएकी छन् । अन्डरउडले ट्रम्पको यो फाउन्डेशनलाई न्यायिध पर्यवेक्षणमा भंग गरिने जानकारी दिँदै भनिन्, ‘यसको सम्पत्तिलाई महान्यायधिवक्ताको कार्यालयद्वारा स्वीकृत प्रतिष्ठित संस्थालाई दिइनेछ ।’

 

उनले यो कानुनको ठूलो जित भएको भन्दै यसबाट कानुन सबैका लागि बराबर भएको प्रष्ट भएको उल्लेख गरेकी छन् । ट्रम्पको फाउन्डेशनका वकिलले भने, ‘सन् २०१६ मा राष्ट्रपति चुनाव जितेपछि ट्रम्पले फाउन्डेशन भंग गरेर यसको सम्पत्ति परोपकारी कामका लागि दिने फैसला गरेका थिए । तर दुर्भाग्यको कुरा न्युयोर्ककी महान्यायधिवक्ताले दुई वर्षसम्म यसलाई भंग गर्न दिइनन् जसबाट १७ लाख आवश्यक स्थानमा पुग्न सकेन ।’

 

उनले भने, ‘पछिल्लो एक दशकमा फाउन्डेशनले ७ सय विभिन्न च्यारिटी संस्थालाई करिब १ करोड ९० लाख डलर बाँडेको छ । यसमा राष्ट्रपतिको ८५ लाख डलरको योगदान पनि छ । यो पैसा ट्रम्पले व्यक्तिगत रुपमा दिएका हुन् ।’न्युयोर्ककी महान्यायधीवक्ता अब पनि यसलाई राजनीतिकरण गर्ने कोशिस गरिरहेको उनको आरोप छ ।

 

डोनाल्ड ट्रम्प र उनको परिवारका कुनै सदस्यबाट भने यस विषयमा कुनै टिप्पणी बाहिर आएको छैन । गत जुलमा ट्रम्पले एक ट्वीट गर्दै फाउन्डेशसनले कुनै गल्ती नगरेको उल्लेख गरेका थिए । न्युयोर्ककी महान्यायधिवक्ता बारबरा अन्डरउडले यो मुद्दामा ट्रम्प र उनका छोराछोरीले लाखौं डलर जरिवाना र प्रतिबन्धको सामना गर्नुपर्ने हुनसक्ने बताएकी छन् । राजधानीमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्