हीरैहीराको ठाउँमा बसेर फलाम खोजिरहेका छौँ : मुख्यमन्त्री पौडेल



काठमाडाैं : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशमा स्रोत र साधन धेरै भएकोले नागरिकले अनुभव गर्ने गरी विकास गर्न सकिने बताएका छन् । सिद्धलेक गाउँपालिकाको नवनिर्मित भवन उद्घाटन गर्दै पौडेलले भने, ‘हामी हीरैहीरा भएको ठाउँमा बसेर फलाम खोजिरहेका छौँ ।’ सबै मिलेर विकासको सम्भावनालाई गाउँ–गाउँबाट लागू गर्नुपर्नेमा उनले जोड दिए ।

 

गाउँपालिकाले आफैँ जग्गा व्यवस्थापन गरेर भवन निर्माण गरेको बताउँदै उनले जनप्रतिनिधिको प्रशंसा गरे । गाउँपालिकामा बुधबार आयोजित एक कार्यक्रमका बीच मुख्यमन्त्री पौडेलले भवनको उद्घाटन गर्नुका साथै राष्ट्रिय झन्डासमेत झन्डोत्तोलन गरेका छन् । इच्छाशक्ति भए जस्तोसुकै काम पनि गर्न सकिने उनले बताए । पौडेलले प्रदेश सरकारले गाउँ–गाउँका लागि बजेट पठाएकोले विकासको बजेटलाई सदुपयोग गर्न आग्रहसमेत गरे । 

१५ रोपनी क्षेत्रफलमा सबै शाखा अट्ने गरी भवन बनाइएको गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवालले बताए । भवन बनाउन १ करोड ८७ लाख ७९ हजार ८ सय ४८ रुपैयाँ खर्च भएको उनले जनाए । भवन उद्घाटन कार्यक्रममा मुख्यमन्त्री पौडेलसहित संघीय सांसदद्वय खेमप्रसाद लोहनी, भूमि त्रिपाठी, प्रदेश ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमरकटेल, प्रदेश सभा सदस्य डा. रामकुमार अधिकारीलगायतको सहभागिता थियो । 

प्रतिक्रिया दिनुहोस्