राष्ट्रपतिले माया च्याप्दा प्रचण्डको प्रसाद,प्रधानमन्त्री मौन वस्दा हिमानीको चर्चा



काठमाडौ : संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको सभामुखबाट यौनदुराचारको आरोपमा कृष्णबहादुर महराले राजिनामा दिएपछि खाली भएको पदमा साविक नेकपा एमाले र माओवादी दलबाट नियुक्त हुने रस्साकस्सी चरिहेको छ ।

साविक माओवादीका कतिपय नेताहरु आफ्नै पूर्व दलबाट हुनुपर्ने लविङ गरिरहँदा पूर्व एमालेका नेताहरु भने योग्यता र क्ष्मताका आधारमा पूर्व एमाले वा पूर्व माओवादीबाट नभई नेकपाबाट अघि सार्नुपर्ने बताउँछन् ।

केही पूर्व माओवादी नेताहरुले पार्टी एकता अझै बाँकी रहेकोले पूर्व सहमति अनुसार सभामुख पदमा अघि सार्नुपर्ने कथन छ भने पूर्व एमालेका कतिपय नेताहरु पार्टीको एकीकरण भैसकेपछि एमाले वा माओवादी भन्ने चीजै नरहेको धारणा व्यक्त गर्छन ।

यसरी पार्टीभित्र यो षिय निकै पेचिलो बनिरहेको बेला नेकपा नेता हरिवोल गजुरेल सभामुख पद पूर्वमाओवादीले पाउनुपर्ने बताउँछन् भने संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ पार्टी एकीकरण भईसकेको बताउदै यो वा त्यो भनेर अंशवण्डा नहुने बताउछन् ।

यस्तै रिक्त रहेको सभामुखको पद सत्ताधारी दल नेकपाले नै राख्ने भएपछि उत्पन्न संवैधानिक संकट समाधानका लागि उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराउने विषयमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच सहमति भएको बताइएको छ । यो सहमतिपछि सभामुख पदमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा पनि दुई नेताले निरन्तर छलफल गरिरहेका छन् ।

दुई नेताबीच भएको विकल्पसहितको छलफलमा पूर्वमाओवादी समूहबाट सभामुखको उम्मेदवार बनाइए उपसभामुख तुम्बाहाम्फेलाई मन्त्री बनाइने छ । स्रोतका अनुसार सभामुखका लागि पूर्वमाओवादी समूहबाट देव गुरुङ, लेखराज भट्ट, पम्फा भुसाल, हरिबोल गजुरेल र अग्नि सापकोटा आकांक्षी रहेकोे बताइएको छ । गुरुङ नेकपाको प्रमुख सचेतक छन् भने अरू नेताहरू पार्टी स्थायी समिति सदस्य हुन् ।

तर, पूर्वएमाले समूहबाट भने पार्टी एकताअघि भएको शक्ति सन्तुलनको भागबन्डालाई एकतापछि पनि आधार बनाएर अघि बढ्नु उपयुक्त नहुने कुरा उठिरहेको छ । पार्टीभित्र र सरकारी राजकीय मामलामा भागबन्डा अन्त्य गर्नतिर कदम नचालिए पार्टी एकता कमजोर हुने पूर्वएमाले पक्षको जोडदार तर्क रहेको छ ।

सभामुख पदको उम्मेदवारीमा पूर्वएमाले समूहबाट सुवास नेम्वाङको नाम चर्चामा छ । पुनः सभामुख बन्ने चाहना नरहेको नेम्वाङले बताए पनि उनीनिकट नेताहरूले भने उनलाई नै पार्टीको तर्फबाट सर्वसम्मत उम्मेदवार बनाउनुपर्ने भन्दै बहस चलाइरहेका छन् ।

त्यसो त पछिल्लोपटक राष्ट्रपति विद्यादेवी भण्डारीले उपसभामुख रहेकी शिवमायालाई सभामुख बनाउने ईच्छा प्रकट गरेकी छन् ।

राष्ट्रपति भण्डारीले यसका निम्ति प्रधानमन्त्री ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमलदाहाल( प्रचण्ड)लाई समेत म्यानमारको भ्रमणमा निस्कनु अगाडी उक्त कुरा बताईसकेको शितल निवास श्रोतले बताएको छ ।

राष्ट्रपति भण्डारीले शिवमायालाई च्यापेपछि प्रचण्डले नेकपा नेता अग्निप्रसाद सापकोटालाई अघि सारेका छन् । त्यसैगरी नेकपाभित्रको गृहमन्त्री रामबहादुर थापा(बादल) पक्षले देव गुरुङ र पम्फा भूषालको नाम ल्याएको छ । यो पक्षले शुरुमा गुरुङको नाम अघि सारेपनि प्रचण्डको आशिर्वाद सापकोटातिर भएको देखेर प्रचण्डमाथि दबाब दिनका लागि भूमिगतकालमा हिमानीका नामले परिचित भूषालको नाम चर्चामा ल्याएको बताईन्छ ।

यस विषयमा प्रधानमन्त्री ओलीले मुख खोलेका छैनन् । कतिपय विषयमा महरा सभामुख हुँदा असहजता महशुस गरेका प्रधानमन्त्री ओलीले आफूसँग ट्युनिङ मिल्ने सभामुखको खोजी गरिरहेका छन् । ओलीको पहिलो रोजाईमा नेम्वाङ रहेता पनि पछिल्ला दिनमा तुम्वाहाम्फेप्रति पनि सकारात्मक रहेको श्रोतको दाबी छ ।

यता सभामुख खाली भएपछि नेकपा अध्यक्ष प्रचण्डले सापकोटालाई सभामुखका लागि ग्रिन सिग्नल दिएको बुझिएको छ । श्रोतका अनुसार पूर्वमन्त्री समेत रहेका सापकोटालाई सभामुख हुन तयार रहन निर्देशन दिएपछि गृहमन्त्री रामबहादुर थापा बादलको जोडबलमा सभामुखको दाबी गरिरहेका नेता देव गुरुङ झस्किएको बताईन्छ ।

प्रतिक्रिया दिनुहोस्