पश्चिमी नेपालमा कुष्ठरोग संक्रमण कायमै



बाँके : मुलुकबाट कुष्ठरोग निर्मूल भएको प्रचार भइरहे पनि पश्चिम नेपालमा यो रोगका संक्रमित लगातार फेला परिरहेका छन् ।

नेपालगन्जका ठूला भनिएका अस्पतालमा कुष्ठरोगका बिरामी अहिले पनि आइरहेका छन् । कुष्ठरोग अरु छालाको रोगसँग मिल्दोजुल्दो देखिने भएकाले अरु सामान्य सङ्क्रमण हो भनेर आफैँ औषधि प्रयोग गरिरहेको चिकित्सक बताउँछन् ।

 

कतिपय बिरामी अस्पतालको पहुँचबाहिर रहनुका साथै जिल्लामा छालाका विशेषज्ञ चिकित्सकको अभावमा आफूखुसी मेडिकलमा गई मलम किनेर लगाउने गर्दै आएका छन् । लामो समय बितेपछि जब हातखुट्टा झमझम गर्छ, नसा दुख्छ, लुलो हुन्छ तब अस्पतालमा आउने गरेको भेटिएको भेरी अञ्चल अस्पतालले जनाएको छ । 

पश्चिमी क्षेत्रका अधिकांश जिल्लाबाट उपचारका लागि छालाका बिरामी नेपालगन्ज आउने गर्छन् । तीमध्ये कुष्ठरोगीका साथै अन्य रोग लागेका पनि हुने गछ्र्रन् । 

स्वास्थ्यका बारे जनचेतना नभएकाले सरसफाइमा ध्यान नदिँदा सङ्क्रमणबाट ढुसी (फंगस) बढी देखा पर्ने गरेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका चिकित्सक डा. कुमार पोखरेलले बताए ।

मेडिकल भाषामा ‘टिनिया’का नामले परिचित यो रोगका कारण ६० प्रतिशत नागरिक पीडित छन् । यसमा दुबी, दादलगायतका सबै रोग पर्ने चिकित्सकको भनाइ छ । 

पहिलेभन्दा अहिले छालासम्बन्धी चासो लिएर जाँच गराउनेको सङ्ख्या बढेको छ । अहिले त नेपालगन्जमा भेरी अञ्चल अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा छालाका विशेषज्ञ चिकित्सक पनि छन् । 

 

नेपालमा बढी देखिने पाँच रोगमध्ये एक छालासम्बन्धी भएको डा. पोखरेल बताउँछन् । उनले भने, ‘नेपालमा छाला रोगको समस्या धेरै छ । कूल जनसङ्ख्याको २५ प्रतिशतमा कुनै न कुनै र पाँच प्रतिशतलाई कडा खालको रोग छ जसको तत्काल उपचार जरुरी छ ।’ उनका अनुसार यो रोग मौसमअनुसार पनि मानिसमा देखिन सक्छ ।

 

डा. पोखरेलका अनुसार पछिल्लो समय सहरीकरणले उब्जाएको फोहर, धूलो, धुवाँ र प्रदूषणले छालालाई गम्भीर असर पारिरहेको छ । 

‘छालाका समस्यालाई सामान्य ठानियो र समयमै सही उपचार गरिएन भने त्यसले पछि क्यान्सरको रुप लिन सक्ने खतरा पनि रहन्छ’, डा. पोखरेलले भने । नेपालमा कति मानिसलाई छालाको समस्या छ भन्ने हालसम्म एकिन तथ्याङ्क छैन ।

प्रतिक्रिया दिनुहोस्