कर्मचारी आन्दोलनको तुक छैन : सरकार



काठमाडौं : सरकारले कर्मचारीहरुको आन्दोलनको अर्थ नभएको बताएको छ ।

सरकारले कर्मचारीद्वारा सञ्चालित आन्दोलनको कुनै तुक नभएको बताएको छ । बिहीबार पत्रकार सम्मेलन गरी सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुला बास्कोटाले कर्मचारी आन्दोलनको कुनै अर्थ नभएको बताएका हुन् । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले कर्मचारीको समायोजन संविधानअनुसार भइरहेको प्रस्ट पारे ।

केन्द्र सरकारमा ४६ हजार, प्रदेशमा २२ हजार र स्थानीय तहमा ५८ हजार कर्मचारी आवश्यक रहेको तथ्यांक दिँदै मन्त्री बास्कोटाले थपे, ‘केन्द्रमा रहेका ९२ हजार कर्मचारीमध्ये ४४ हजारलाई प्रदेश र स्थानीय तहमा समायोजन गरिन्छ ।’ संविधान र कानुनबमोजिम हुन लागेको कर्मचारी समायोजनमा आन्दोलनले कुनै अर्थ नराख्ने उनको भनाइ थियो ।

संविधानको धारा नै उद्धृत गर्दै मन्त्री बास्कोटाले भने, ‘संविधानको धारा ३०२ मा प्रदेश र स्थानीय तहमा सरकारी सेवाको गठन र सञ्चालनसम्बन्धी व्यवस्था गरिएको छ । यो व्यवस्थाअन्तर्गत संविधान प्रारम्भ हुँदाका बखत सरकारी सेवामा कार्यरत राष्ट्रसेवक कर्मचारीलाई नेपाल सरकारले कानुनबमोजिम संघ, प्रदेश र स्थानीय तहमा समायोजन गरी सेवा प्रवाहको व्यवस्था मिलाउन सक्नेछ ।’ आन्दोलन गर्नेले कानुनको आफू अनुकूल व्याख्या गरेको आरोप पनि उनले लगाए ।

प्रतिक्रिया दिनुहोस्