बढ्यो चोरी सिकारी, चित्तल मार्ने समातिए



                      मोरङको पथरी शनिश्चरे नगरपालिका १ स्थित मनकामना सामुदायिक वनमा मारिएको चित्तल ।

विराटनगर :  मोरङका उत्तर पूर्वी समुदायिक वनहरुमा पछिल्लो समय दुर्लभ बन्यजन्तुको चोरी सिकारी बढेको छ । 

प्रहरी र वन कर्मचारीको उपस्थिति कम हुने वन क्षेत्रलाई लक्षित गरेर चोरी सिकारी गर्ने समूह सक्रिय भएको हो । मोरङको पथरी शनिश्चरे नगरपालिका १ को मनकामना सामुदायिक वनबाट चित्तल मार्दै गर्दा सोही ठाउँका ३९ वर्षीय प्रकाश भनिने रत्नबहादुर धिमाललाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको छ ।

 

प्रहरीले मंगलबार साँझ पनि केराबारी गाउँपालिका ८ बाट लोड गरिएको अवस्थाका दुई थान भरुवा बन्दुक बरामद गरेको थियो । चित्तल मार्ने धन्दामा संलग्न व्यक्ति पक्राउ पर्नु र वन क्षेत्रबाट बन्दुक बरामद हुनुले पनि बन्यजन्तुको चोरी सिकारी गर्ने समूह सक्रिय भएको पुष्टि हुने प्रहरीले जनाएको छ । 

चित्तल मार्दै गर्दा पक्राउ परेका धिमालका बारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । घटनास्थलबाट प्रहरीले चित्तल मार्न प्रयोग गरिएको एउटा भरुवा बन्दुक बरामद गरेको छ । बन्दुकसँगै त्यसमा प्रयोग हुने छर्रा, बारुद, बिजुलीको तारबाट बनाइएको पासो,  खुकुरी, कपडासमेतका सामान बरामद गरिएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईंले बताए । 

धिमालविरुद्ध हातहतियार, खरखजना ऐनअन्तर्गत मुद्दा चलाइसकेपछि अर्को कारबाहीका लागि उनलाई वन कार्यालयको जिम्मा लगाइने बजगाईंले जानकारी दिए । उनका अनुसार सामुदायिक वनमा भेला भएकाहरुले चित्तल मारिरहेका छन् भन्ने सूचना आएपछि दिउँसो साढे २ बजे घटनास्थलमा प्रहरी पुगेको थियो ।

 

प्रहरीलाई देख्ना साथ अन्य व्यक्ति भने फरार भएको र धिमाल पनि भाग्न खोज्दै गर्दा घेरा हालेर नियन्त्रणमा लिइएको प्रनि बजगाईंको भनाइ छ । फरार रहेकाहरुको पहिचान र खोजी कार्य भइरहेको प्रहरीको जनाएको छ । 

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट चित्तल मार्ने धन्दामा बन्यजन्तुको चोरी सिकारी गर्ने समूहको संलग्नता रहेको खुलेको छ । बन्दुक हानेर मारिएको चित्तलको बायाँ पातोमा गहिरो चोट लागेको छ । चित्तल अन्दाजी दुई वर्षजतिको भाले रहेको प्रहरीले जनाएको छ । चित्तल मारेर आगोमा पोलिसकेपछि मासु भाग लगाउने तयारी गर्दैगर्दा प्रहरी पुगेको थियो । 

धिमाल र घटनामा संलग्न अन्य व्यक्ति लामो समयदेखि बन्यजन्तुको चोरी सिकारीमा संलग्न रहेको खुलेको छ । अवैध हतियारको प्रयोग गर्दै बन्यजन्तुको चोरी सिकारी गर्ने समूह सक्रिय रहेको खुलेपछि वन क्षेत्रमा निगरानी बढाइएको बजगाईंले बताए ।

 

प्रतिक्रिया दिनुहोस्