महरा काण्डले ओली र प्रचण्डबीच बोली बाराबार



काठमाडौं : यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका प्रतिनिधिसभाको तत्कालिन सभामुख कृष्णबहादुर महरा प्रकरणले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र नयाँ दरार उत्पन्न गरेको छ । खास गरी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’का बीचमा दूरी बढदै गइरहेको छ ।

स्रोतका अनुसार महरा प्रकरणलाई आन्तरिक रुपमै व्यवस्थापन गर्ने सोचमा अध्यक्ष प्रचण्ड रहेपनि विगत केही समयदेखि महरा र प्रधानमन्त्री ओलीबीच बढ्दो असमझदारीका कारण ओली भने सकारात्मक देखिएनन् । पछिल्लो पटक यही बिन्दुबाट अध्यक्षद्वयको चिसो पन बढेको बताइन्छ ।

अध्यक्षद्वयबीचको बढ्दो चिसोपनले पार्टीमा समेत तरंग ल्याएको छ । अध्यक्षद्वयबीचको विवाद अहिले सतहमै देखिने गरी आएको छ ।

अध्यक्ष ओलीले महराकै कारण मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को अनुदान रोकिएको आरोप एक दैनिक पत्रिकाको अन्तर्वार्तामा बताए । त्यसको भोलिपल्ट अध्यक्ष प्रचण्डले महराको कारण सो अनुदान नरोकिएको भन्दै स्पष्टीकरण दिनुपरेको थियो ।

नेपालको पूर्वाधार विकास परियोजना कार्यान्वयनका लागि अमेरिकी सरकारको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले नेपाललाई ५१ अर्ब (पाँच सय मिलियन अमेरिकी डलर) अनुदान उपलब्ध गराउने सहमती भएको थियो ।

अमेरिका भ्रमणमा रहेका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र अमेरिकी एमसीसी कार्यक्रमका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत जोनाथन नासले वासिङटन डीसीस्थित विदेश मन्त्रालयमा सहमती भएको थियो । सो सम्बन्धी विधेयक संसदबाट पारित नगराई सहयोग उपलब्ध हुन नसकेको गुनासो ओलीको रहेको छ ।

तर ओलीको आरोप प्रचण्डले स्वीकार्न तयार छैन । ओलीको आरोपको खण्डन गर्दै प्रचण्डले महराको बचाउँ गरेका छन् । पछिल्लो समयमा प्रचण्डले नेपालका कम्युनिष्ट नेता आफूलाई परिवर्तन नगरे सोभियत संघ जस्तै पतन हुने भन्दै ओली प्रति कटाक्ष गरेका छन् ।

लगतै प्रधानमन्त्री ओलीले नेपालको कम्युनिष्ट पार्टी कहिल्यै पतन नहुने भन्दै प्रचण्डलाई अर्को जवाफ मिडियामार्फत फर्काएका छन् । केही दिन यता ओली र प्रचण्डबीच वाक युद्ध नै चलिरहेको छ जसको पछाडी महरा काण्ड नै रहेको प्रष्टै देखिन्छ ।

यौन दुर्व्यवहार काण्डमा समेत प्रचण्डले महराको बचाउँ गर्दै राजीनामा दिनुनपर्ने भन्दै नेकपाको सचिवालय बैठकमा भनेका थिए । तर महरासँग रुष्ट ओलीले मिडियामार्फत पार्टी र सरकारको समेत बदनामी हुन थालेकाले राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्नुपर्ने भन्दै प्रचण्डको कुरा मानेनन् ।

ओलीले सचिवालय बैठकबाट महराले राजीनामा दिनुपर्ने प्रस्ताव पारित गराए । महराले सभामुखबाट राजीनामा दिए पनि सांसद पदबाट राजीनामा दिएनन् । महरा काण्डले प्रचण्ड आफूलाई कमजोर भएको महशुस गरिरहेका छन् ।

पार्टी एकताका बेलामा भद्र भनिएको सहमती समेत कार्यान्वयन नभएको भन्दै प्रचण्ड ओलीसँग रुष्ट छन् । पार्टी वा सरकारको कार्यकारी पदमध्ये एक आफूले पाउँने पर्ने भन्दै प्रचण्डले सचिवालय स्तरका नेताको घरमै पुगेर गुनासो समेत गरिरहेका छन् ।

ओलीबाट धोका पाएको भन्दै प्रचण्डले यसरी पार्टी र सरकार चल्न नसक्ने भन्दै दुईमध्ये एक कार्यकारी जिम्मेवारी आफूले पाउँनुपर्ने बताउँदै आएका छन् । प्रचण्डले पछिल्लो समय वरिष्ठ नेता माधवकुमार नेपाल, प्रस्तावित उपाध्यक्ष वामदेव गौतम, सचिवालय सदस्य ईश्वर पोखरेल लगायतका नेतालाई भेटेरै यस्तो गुनासो गरेको नेकपा स्रोतले जनाएको छ ।

अहिले ओली र प्रचण्डबीच चलिरहेको वाक युद्धले पार्टी र सरकार दुबैलाई नोक्सान पुग्ने भन्दै दोस्रो तहका नेता दुवै अध्यक्षलाई मिल्नुपर्ने सुझाव दिएका छन् । पार्टी एकताको बाँकी काम टुंगो अझै नलागेकाले त्यसलाई टुंगो लगाउँदै एकताको महाधिवेशनसम्म दुवै अध्यक्ष मिल्नुको विकल्प नभएको नेताहरुले सुझाव दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्